समाज


६ महिनापछि चढाैंला नौतले दरबार (भिडियो)

६ महिनापछि चढाैंला नौतले दरबार (भिडियो)

यज्ञराज जोशी
पुस २२, २०७६ मंगलबार ८:१९,

सम्झौताअनुसार चीन सरकारले २०२० को अन्त्यसम्ममा वसन्तपुर क्षेत्रमा रहेको नौ तले दरबार पुनर्निर्माण गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने हो। तर, निर्धारित समयभन्दा ६ महिनाअघि नै दरबारको काम सकिने सम्भावना देखिएको छ।

काठमाडौँ विजयलगत्तै पृथ्वीनारायण शाहले वसन्तपुरमा वि.सं. १८२६ मा यो दरबार बनाउन लगाएका थिए। उनीपछिका सात शाहवंशीय राजाहरु त्यहीँ बसे।

यति लामो इतिहास बोकेको यो दरबार २०७२ को भूकम्पमा क्षतिग्रस्त भयो। भूकम्प गएको दुई वर्षपछि चीन सरकारको प्राविधिक र आर्थिक सहयोगमा चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले यो दरबार तीनवर्षभित्र पुनर्निर्माण गर्ने सम्झौता गरेको थियो। १० करोड बढी लागतमा पुनर्निर्माण थालिएको यो दरबारको काम अहिले ८० प्रतिशत सकिएको छ। अबको ६ महिनामा बाँकी काम सकिनेमा पुरातत्व विभाग समेत विश्वस्त छ।

Nautale 2अबको ६ महिनामा नौतले दरबारको काम सकिने पुरातत्व विभागको दाबी छ। तस्बिर: प्रविन कोइराला

आवश्यक पुरातात्विक सामाग्री उपलब्ध गराउने जिम्मेवारी पुरातत्व विभागले लिएको थियो। चिनियाँ निर्माण कम्पनीसँग सहकार्य र सहजीकरणका लागि पुरातत्व विभागले नौ तले दरबार परिसरमै फिल्ड अफिस समेत स्थापना गरेको छ।

‘विश्व सम्पदा क्षेत्रमा भइरहेका पुनर्निर्माण तथा सबलीकरणका काममा सबैभन्दा महत्वपूर्ण र ठूलो स्केलको काम यही दरबारमा भइरहेको छ,’ विभागका सिनियर डिभिजनल इन्जिनियर तथा इन्जिनियरिङ शाखा प्रमुख सम्पत घिमिरे भन्छन्, ‘अब ६ महिनामा सबै काम सकिनेमा हामी विश्वस्त छौं।’

त्यसलगत्तै सर्वसाधारणले अवलाेकन गर्न पाउनेछन् याे ऐतिहासिक दरबारकाे।

यो पनि: अब विश्वले चिन्नेछ ९ कक्षा ‘ड्रपआउट’ आङछिरिङको यती-कला

नौतले दरबारका चारवटा टावरमध्ये भूकम्पले ललितपुर टावरलाई बंग्याइदिएको थियो। त्यो सोझ्याउँदा छाना नै खस्ने त्रास थियो। तर कुनै क्षतिबिना त्यसलाई ठड्याएर सबलीकरणको काम सम्पन्न भइसक्यो। यस्तै दुई तल्ला छानो खसेको भक्तपुर टावरको समेत छानो हालिसकियो भने मर्मत तथा सबलीकरण आवश्यक रहेको कीर्तिपुर टावरको काम पनि सकिइसकेको छ।

हाल वसन्तपुर (जसलाई नौ तले दरबार भनिन्छ) टावरको काम जारी छ। भूकम्पमा नौ तले दरबारको साढे दुई तला खसेको थियो। ती तला ठड्याएर अहिले चिनियाँहरु छानाको काम गरिरहेका छन्।

Nautale 1नौतले दरबारका चारमध्ये बसन्तपुर बाहेक सबै क्षेत्रका टावर निर्माण सम्पन्न भैसकेको छ। तस्बिर: प्रविन कोइराला

‘चिनियाँहरुले २०२१ सम्म काम सकेर हस्तान्तरण गर्ने सम्झौता हो, तर प्रगति हेर्दा २०२० को पहिलो चौमासिकमै काम सकिन्छ जस्तो लागिरहेको छ,’ दरबारको दैनिक कार्यप्रगति हेरिरहेकी विभागकी कार्यकारी निर्देशक अरुणा नकर्मी भन्छिन्, ‘मुख्य काम नौ तल्लेको दरबारको हो। त्यसको पनि गजुरको काम हुँदैछ भन्नुको अर्थ काम सकिन लाग्यो भन्ने हो। उहाँहरुले समयअगावै काम सक्नुहुन्छ।’

इञ्जिनियर घिमिरे पनि छानोसँगै फिनिसिङ र बुट्टाको काम सकिए नौ तले दरबारको पुनर्निर्माणले पूर्णता पाउने बताउँछन्।

निर्माण कार्य वसन्तपुरमा जारी रहेपनि कला संस्कृति झल्काउने परम्परागत सामाग्रीहरु भने छाउनीस्थित राष्ट्रिय संग्राहलयमा निर्माण भइरहेका छन्। त्यहाँ नेपाली सिकर्मी, डकर्मी, कालिगढसहित चिनियाँहरुले काम गरिरहेका छन्। त्यहाँ निर्माण भएका सामाग्रीलाई वसन्तपुरमा ल्याएर जडान गरिनेछ।

चिनियाँ निर्माण कम्पनीले श्रमिकहरु चीनबाटै ल्याएको छ। वसन्तपुर र छाउनीमा गरी दैनिक करिब डेढ सय श्रमिकले नौ तल्ले दरबारको काम गरिरहेका छन्।

निर्माणस्थलमा अन्यलाई प्रवेश निषेध छ। बिहानैदेखि काम सुरु हुन्छ। श्रमिकहरुले दिउँसो डेढ घण्टा ब्रेक लिन्छन्। त्यसपछि पुनः कामलाई निरन्तरता दिन्छन्। चिनियाँहरु कडा समयपालक भएकाले नै सम्झौता अवधिभन्दा अघि काम सकिन लागेको नकर्मीको भनाइ छ।

फिल्ड अफिसर तथा चिनियाँ निर्माणकर्तासँग दैनिक प्रत्यक्ष समन्वयमा रहने भएकाले नकर्मीलाई विगतमा बारम्बार कहिले काम सकिन्छ? भनेर प्रश्नहरु तेर्सिरहन्थे। तर, अहिले भने उनले यस प्रश्नबाट छुटकारा पाएकी छिन्।

Nautale 4नौतले दरबार पृथ्वीनारायण शाहले निर्माण गरेका हुन्। तस्बिर: प्रविन कोइराला

‘तस्बिर आफैँ बोल्छ भनेझैं एकचोटी सरर हेरेपछि जो कोहीले पनि ‘ए सकिन लाग्यो’ भन्ने आफैँ महसुस गर्छन्। त्यसो गर्दा कहिले सकिन्छ भन्नेको जवाफ अहिले दिइराख्नु पर्दैन,’ उनले भनिन्।

दरबारको जगैदेखि सबलीकरण र पुनर्निर्माण गर्दा यति पुरानो र पुरातात्विक महत्वको सम्पदालाई जस्ताको तस्तै बनाउनुपर्ने चुनौती थियो। सकेसम्म त्यो मौलिकतालाई कायम राखिएको इन्जिनियर घिमिरे बताउँछन्।

यो पनि: जसले यतीलाई आकार दिए

‘हामीले नहतारिकन सुक्ष्म तरिकाले नेपाली सिकर्मी र डकर्मीहरुकै प्रयोगमा काम गरेका छौं। तर केही स्थानमा आधुनिक सामाग्रीहरुको प्रयोग गर्नुपर्ने बाध्यता आइलागेको थियो। त्यस्तो अवस्थामा सम्पदा तथा पुरातत्वविदको सुझाव लिएर मात्रै त्यस्ता सामाग्रीहरुको प्रयोग गरिएका छन्।’

दरबारको जगमा पानी भेटिएपछि त्यसलाई निकास दिन सिमेन्ट तथा प्लास्टिक पाइपको प्रयोग गर्नुपरेको थियो। आधुनिक सामाग्रीको प्रयोगका लागि सम्पदा समूह तथा विज्ञहरुको सुझाव सल्लाह लिई निर्णय लिनुपर्थ्यो। नेपालले मात्रै निर्णय गरेर हुँदैनथ्यो। नेपाली पक्षको निर्णय चिनियाँ पक्षलाई बुझाइन्थ्यो अनि चिनियाँ पक्षले त्यसबारे बेइजिङमा आफ्ना प्राविधिकहरुसँग सरसल्लाह गरेपछि बल्ल काम अघि बढ्थ्यो। यसरी प्रक्रियामा जाँदा केही समय लम्बिएको घिमिरेको भनाइ छ।

Nautale 5

अर्कातिर पुराना चीजवस्तुहरु निर्माण गर्ने मान्छे तथा पराम्परागत सामग्रीको सहज उपलब्धता नहुँदा समेत कामका कठिनाइ भएको घिमिरेको अनुभव छ।

‘सम्पदाको बाहिरी भागमा प्रयोग गरिने परम्परागत दाछी अप्पा इँट्टा उत्पादन गर्ने काठमाडौंमा एक दुईवटा मात्रै छन्। त्यसका लागि हामी तीन महिनासम्म कुर्नुप¥यो,’ घिमिरे भन्छन्, ‘लामालामा काठ पनि सजिलै पाइँदैन। वन मन्त्रालय लगायतसँग समन्वय गरेर काम भयो। कहिले टुँडाल खोप्ने मान्छेको अभाव भयो। मान्छे फेला पारेपनि खोप्न समय लाग्यो।’

लगभग सबै परियोजना समयभन्दा पछि धकेलिने गरेको नेपालमा यस्ता अनेक चुनौतीका बाबजूद नौ तले दरबारको काम समयअघि नै सकिन लाग्नु आफैँमा ठूलो सफलता हो भन्नेमा दुईमत छैन।

Nautale 3

सम्पूर्ण फोटो/भिडियो: प्रविन कोइराला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad