संयुक्तराष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) ले संयुक्तराज्य अमेरिका–मेक्सिको सीमाको एक नदीमा बाबुछोरीको डुबेर मृत्यु भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ।
अमेरिका प्रवेश गर्न चाहने एल साल्भाडोरका आप्रवासी बाबुछोरीको रियो ग्रान्डे नदीको किनारामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको थियो।
युएनएचसिआरले बाबु र उनकी २३ महिनाकी छोरीको नदी किनारामा तैरिएको अवस्थामा शव भेटिएको र यो निकै हृदयविदारक रहेको जनाएको छ।
मेक्सिको र संयुक्तराज्य अमेरिकालाई छुट्याउने रियो ग्रान्डे सीमा नदी हो।
राष्ट्रसंघले एलसाल्भाडोरका ओस्कार अल्बर्टो मार्टिनेज रामिरेज र उनकी छोरी भ्यालेरीको दुःखद निधन “अस्वीकार्य” रहेको जनाएको छ।
याे पनि।
संयुक्तराज्य अमेरिकाले राष्ट्रपति ट्रम्पको आदेशमा मेक्सिको सीमामा कडाई गरेपछि अमेरिका प्रवेश गर्न चाहने आप्रवासीले कठोर मार्ग प्रयोग गर्न थालेका छन् जसका कारण आप्रवासीहरुको मृत्यु नियमितझैं हुन गरेको छ।
युएनएचसिआरका उच्चायुक्त फिलिप्पो ग्रान्डीले ओस्कार र भ्यालेरीको मृत्युले कतिपय मुलुकमा बढ्दो हिंसालाई रोक्नेतर्फ विश्वको ध्यान जान जरुरी रहेको बताएका छन्।
‘मानिसहरु सुरक्षित जीवनका लागि कठोर यात्रामा निस्कन बाध्य भइरहेको देखिन्छ’ ग्रान्डीले भने।
सिन्ह्वाका अनुसार युएनएचसिआरले सबै मुलुकलाई यस्ता दुःखद घटना हुन नदिन तत्कालै समन्वयात्मक कदम चाल्न आह्वान पनि गरेको छ।
Shares

प्रतिक्रिया