राजनीति


‘स्वतन्त्र तिब्बत’ कार्यक्रममा सहभागी एक सांसदलाई कारबाही, अर्कालाई उन्मुक्ति

‘स्वतन्त्र तिब्बत’ कार्यक्रममा सहभागी एक सांसदलाई कारबाही, अर्कालाई उन्मुक्ति

नेपालखबर
असार १२, २०७६ बिहिबार ७:३३,

‘फ्रि तिब्बत’ का पक्षधरहरुले आयोजना गरेको कार्यक्रममा भाग लिन जाँदा समाजवादी पार्टीका सांसदले पार्टीबाट भारी कार्वाही भोगिरहँदा राष्ट्रिय जनता पार्टी (राजपा) ले भने त्यही कार्यक्रममा भाग लिएका सांसदलाई उन्मुक्ति दिएको छ।

समाजवादी पार्टीले आइतबार (८ असार) पर्सा–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादवलाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गर्ने निर्णय गरेको थियो। सांसद यादवले लगातार ४ कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।

तत्कालिन संघीय समाजवादी फोरमका सांसद यादव र राजपा सांसद इकवाल मियाँ २४–२७ मा लाटभियाको राजधानी रिगामा आयोजित इन्टरनेसनल पार्लियामेन्टेरियन प्रोग्राम (आइपीपी) द्वारा आयोजित कार्यक्रमका लागि गएका थिए।

सो कार्यक्रमबारे उनीहरुले प्रतिनिधित्व गर्ने तत्कालिन फोरम र राजपालाई जानकारी थिएन। कार्यक्रमको उद्देश्यबारे जानकारी नहुँदा आफूहरु त्यहाँ पुगेको र उद्देश्यबारे जानकारी पाएपछि कार्यक्रम छाडेर हिँडेको प्रष्टिकरण नेपाल फर्केपछि सांसदद्वयले दिएका थिए।

जिल्ला अध्यक्ष समेत रहेका सांसद स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा भाग लिन गएको सार्वजनिक भएपछि उपप्रधानमन्त्री एवं फोरम अध्यक्ष उपेन्द्र यादवले १ जेठमा विज्ञप्ती जारी गरी फोरम ‘एक चीन नीतिप्रति प्रतिबद्ध रहेको’ र ‘चीनविरोधी गतिविधिको विपक्षमा रहेको’ प्रष्टिकरण दिएका थिए।

यस विषयमा फोरम (पछि समाजवादी पार्टी) ले सांसद यादवसँग स्पष्टिकरण समेत लिएको थियो। उनको स्पष्टिकरणप्रति चित्त नबुझेपछि लगातार ४ पटक जिल्ला अध्यक्ष भइसकेका प्रतिनिधि सभा सदस्य यादवलाई आइतबार ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।

डा बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालसँग एकता गरेपछि ‘समाजवादी पार्टी नेपाल’ नामाकरण गरिएको समाजवादी पार्टीको प्रभाव अहिलेपनि तराई–मधेशमै बढी छ। त्यसैले, अहिले पनि यो पार्टीको परिचय ‘मधेशवादी दल’ कै रुपमा छ।

मधेशवादी दलहरुलाई ‘भारत निकटस्थ’ को आरोप लाग्दै आएको छ। यसका वावजुद उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सम्बन्ध चीनसँग निकै सुमधुर छ। ०६६ मा वीरगञ्जमा भएको फोरमको पहिलो महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागका सदस्य आइ पिङले भाग लिएका थिए।

जनयुद्धकालमा माओवादी नेताद्वय मातृका यादव र सुरेश आलेसँगै नयाँदिल्लीमा पक्राउ परेका अध्यक्ष यादवको चीनसँग पहिलो संविधान सभा निर्वाचनमा तराई–मधेशमा फोरमले पाएको सफलतासँगै सुमधुर बन्न पुगेको थियो।

पहिलो संविधान सभा निर्वाचनमा माओवादी र मधेशवादी दलले विजय हासिल गरेपछि नयाँ परिस्थितिबारे अध्ययन गर्न आइ पिङको टोली नेपाल आएको थियो। त्यसैक्रममा चिनियाँ नेता पिङ र फोरम अध्यक्ष यादवबीच दरवारमार्गस्थित होटल याक एण्ड यतिमा ‘गोप्य भेट’ भएको थियो।

पहिलो संविधान सभा निर्वाचनपछि यादव माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री छँदा परराष्ट्रमन्त्री बने। त्यसक्रममा चीनसँगको उनको सम्बन्ध थप सुमधुर बन्यो। ‘एक चीन नीति’ को पक्षमा स्पष्टसँग उभिएकाले पनि चिनियाँ पक्षले उनलाई नजिक ल्याउन चाह्यो।

त्यसैले, सांसद यादवले ‘स्वतन्त्र तिब्बत’ पक्षधरले आयोजना गरेको कार्यक्रममा सहभागिता समाजवादी पार्टीका लागि गम्भीर विषय बन्यो। र, आइतबारको बैठकबाट उनलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय पार्टीले गर्यो।

‘कार्यक्रमबारे पर्याप्त जानकारी नपाएर त्यहाँ पुगेँ, तर कसैलाई खुसी पार्नु थियो होला, ममाथि कार्वाही गरियो’ विहीबार विहानसम्मपनि निलम्बनको निर्णयबारे औपचारिक रुपमा जानकारी नपाएका सांसद यादवले नेपालखबरसँग भने, ‘पार्टीको इमान्दार सिपाही हुँ, निलम्बन गरिएकै हो भने पार्टीको निर्णय स्वीकार गर्छु।’

सांसदद्वय ‘स्वतन्त्र तिब्बत’ पक्षधरले आयोजना गरेको कार्यक्रममा भाग लिन गएको जानकारी प्राप्त हुनासाथ अध्यक्ष यादवले विज्ञप्ती जारी गरी ‘एक चीन नीति’ प्रति पार्टीको नीति प्रष्ट पारेका थिए। तर, अर्काे मधेशवादी दल राजपाले चाहिँ यसबारेमा आफ्नो नीति प्रष्ट पारेन।

‘सांसद मियाँको कार्यक्रममा सहभागिताबारे पार्टीलाई कुनै जानकारी नभएको’ स्पष्टिकरणमात्र सो पार्टीले दियो। राजपा अध्यक्ष मण्डलका तत्कालिन संयोजक शरदसिँह भण्डारीले ३ असारको विज्ञप्तीमा सो कुरा उल्लेख गरेका थिए।

‘हाम्रो पार्टीपनि ‘एक चीन नीति’ कै पक्षमा रहेको छ, चीनलाई आपत्ति हुने गतिविधि हामीले गर्नुहुँदैन’ अध्यक्ष मण्डलका वर्तमान संयोजक अनिलकुमार झाले भने, ‘तर राजपा लोकतान्त्रिक पार्टी हो, कुनै कार्यक्रममा व्यक्तिगत तवरमा भाग लिएको विषय हाम्रा लागि कार्वाहीको विषय बन्न सक्दैन।’

आफू स्वशासित क्षेत्र तिब्बतको ‘स्वतन्त्रता’ को नाममा हुने गतिविधिप्रति चीन सदैव सम्वेदनशील हुने गरेको छ। यसलाई उसले आफ्नो सार्वभौमिकतामाथिको अतिक्रमण र अस्थिर बनाउने प्रपञ्चको रुपमा व्याख्या गर्दै आएको छ। राजपा नेताहरुको आशंका के छ भने, उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग चिनियाँ पक्षले आपत्ति जनाएको हुनसक्छ, त्यसैले तत्काल विज्ञप्ती जारी गर्नुका साथै सांसद यादवलाई निलम्बन गर्ने निर्णय गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad