ad ad

समाज


राष्ट्रपतिले मञ्चबाट ओर्लेर अपांगता भएकाहरुलाई दिए पदक

राष्ट्रपतिले मञ्चबाट ओर्लेर अपांगता भएकाहरुलाई दिए पदक

पदक वितरण गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर : राष्ट्रपतिको सचिवालय


नेपालखबर
बैशाख १, २०८० शुक्रबार १७:४८, काठमाडौँ

राष्ट्रपति भवन शीतल निवासमा शारीरिक रुपमा अशक्त एक वृद्धा अग्लो ठाउँमा रहेको मञ्चतर्फ अगाडि बढ्न खोज्दै थिइन्। 

मञ्चसम्म जाने सहज विकल्प नदेखेर अलमलमा परेकी  उनलाई राष्ट्रपति रामचन्द्र पौडेल ओर्लेर पदक बाँडेका छन्। 

सुरक्षाअधिकारीले राष्ट्रपति त्यसरी जान नमिल्ने संकेत गरे पनि पौडलले त्यसलाई नमानी ओर्लिए।

अपांगता भएकाहरुले मञ्चसम्म जाने बाटो अपांग मैत्री नपाएपछि तलै बस्न बाध्य भएका थिए। यस्तोमा पौडेलले तल ओर्लिएर अशक्त वृद्धालाई पदक दिए। 

शारीरिक रुपमा अशक्त अन्यलाई पनि राष्ट्रपति पौडेलले मञ्चबाट ओर्लेर पदक प्रदान गरे।

कसलाई कुन पदक 
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रवल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री र १६ जनालाई सुकीर्तिमय राष्ट्रदीप प्रदान गरे।

त्यसैगरी एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, ६ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गरियो।

पौडेलले राष्ट्रको गौरव बढाउन योगदान गर्ने पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका ७ सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरे।

राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री स्व कोइरालालाई दिइएको नेपाल रत्न उनकी परिवारिक सदस्य किरण कोइरालालाई प्रदान गरे। 

राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने ‘आश्रित’, लाई प्रदान गरिएको राष्ट्र गौरव उनकी धर्मपत्नी माया न्यौपानेलाई प्रदान गरियो।

मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेकी थिइन्।  

नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .