समाज


भारतबाट फर्किने अधिकांशमा कोरोना संक्रमण

भारतबाट फर्किने अधिकांशमा कोरोना संक्रमण

फाइल तस्बिर।


नेपालखबर
बैशाख १, २०८० शुक्रबार १४:१९, काठमाडौँ

केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ। भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो।

प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ। भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना संक्रमित भेटिन थालेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए। भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण  देखिएकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेको उनको भनाइ थियो।

‘सङ्क्रमण पुष्टि हुने सबैजसो भारतबाट आएका व्यक्ति छन्। भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले पनि सीमा क्षेत्रमा दैनिक आवागमन भइरहने हुँदा यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थाले हो,’ उनले भने।

नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमण दर पनि बढ्न थालेको जोशीले बताए। उनका अनुसार भारतसँग सीमा जोडिएका क्षेत्रमा जोखिम बढी हुने भएकाले उच्च सतर्कता अपनाउन निर्देशनालयले सबैलाई अनुरोध गरेको छ।

भारतसँग सीमा जोडिएका यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित कोरोना परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ।

यी नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेनमार्फत कोरोना परीक्षण पश्चात् मात्रै  स्वदेश भित्रिन दिइने गरिएको छ। परीक्षणपछि सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरी होम आइसोलेसन बस्ने व्यवस्था मिलाइएको छ।  

सङ्मितलाई होम आइसोलेसनमा बस्न भने पनि आइसोलेसनको मापदण्डअनुसार उनीहरु आइसोलेसनमा नबस्दा समुदायमा जोखिम बढ्न सक्ने जोशीले बताए। उनले भने, ‘हामीले सङ्क्रमितलाई होम आइसोलेसनमा बस्ने भनेका छौँ, उनीहरुले होमआइसोलेसनमा नबस्दा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलने जोखिम बढेको छ।’  

सङ्क्रमणको जोखिम बढेसँगै कोरोना विरुद्धको खोप अभियानलाई पनि निरन्तरता दिइएको छ। प्रदेशका सबै स्थानीय तहमा कोरोना विरुद्धको बुस्टर डोज लगाउन तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले आग्रह गरेको छ।

सुदूरपश्चिममा हालसम्म छ लाख ५४  हजार ८८ को कोरोना परीक्षण गर्दा ६२ हजार एक सय ६८ जनामा सङ्क्रमण देखिएको छ। सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad