समाज


तिब्बती शरणार्थी युवतीको बयान : ५ लाख तिरेर निकालेँ नेपाली नागरिकता

८ जनाविरुद्ध अघि बढ्यो मुद्दा
तिब्बती शरणार्थी युवतीको बयान : ५ लाख तिरेर निकालेँ नेपाली नागरिकता

नेपाली नागरिकता लिएकी तिब्बती युवती। तस्बिर : नेपाल प्रहरी


नेपालखबर
बैशाख १, २०८० शुक्रबार १३:४४, काठमाडौँ

तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको प्रकरणमा जिल्ला अदालत काठमाडौंमा ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। 

जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार एक तिब्बती शरणार्थी युवतीसहित ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो। 

आइतबारदेखि यो मुद्दामा थुनछेक बहस हुनेछ। यो कसुरमा ललितपुरको इमाडोलका कृष्णबहादुर कटवाल, ललितपुरकै धोवीघाटका हिरालाल सिवाकोटी, ललितपुरको गोदावरी घर भई काठमाडौंको बौद्ध बस्ने विजय लामाविरुद्ध मुद्दा चलाइएको छ।

त्यसैगरी काठमाडौंको बबरमहलका न्युल्केस श्रेष्ठ, कीर्तिपुरका देवराज गौतम, तनहुँको शुक्लगण्डकीका लोब्साङ ठिल्ले, गोरखाको भीमसेन थापा गाउँपालिकाका अञ्जनी बयालकोटी र तिब्बती नागरिक निमा ल्हामोविरुद्ध पनि मुद्दा चलेको छ।

अनुसन्धानबाट निमासहित सयौं तिब्बतीलाई नागरिकता दिएको खुलेको छ। केहीका नागरिकता पनि प्रहरीले बरामद गरिसकेको छ। 

नागरिकता दिलाउने कार्यमा संलग्न जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत मुरारीप्रसाद निरौला, रामप्रसाद ओली, लेखनाथ खतिवडा, राजेशप्रसाद पोखरेल, एकनारायण भण्डारी र लोकमाण श्रेष्ठलाई विभागीय कारबाही मात्रै हुने भएको छ। 

उनीहरुलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले बताए।

शरणार्थीलाई नागरिकता दिलाउने गिरोहले ५ लाख रुपैयाँसम्म लिएको पाइएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले यसरी नागरिकता लिएकी तिब्बती युवती निमा ल्हामोलाई पक्राउ गरेको थियो। अन्यले पनि नागरिकता लिएको खुलेको छ, तर उनीहरु हाल फरार छन्। 

तर तिब्बती शरणार्थी निमाले भने आफूले ५ लाख रुपैयाँ बुझाएर नागरिकता लिएको स्वीकारेकी छन्। उनले कसरी नागरिकता लिइन् भन्ने बयानमा खुलाएकी छन्। 

यस्तो छ निमाको बयानः
म सानैदेखि नेपालमा बसी आएको हुँदा नेपाली भाषा लेख्न पढन्, बोल्न, बुझ्न सक्छु।

नेपालीमा बयान दिन दोभाषेको आवश्यक पर्दैन। कान्छा गुरुङ भन्ने तिव्बती नागरिकले नेपाली नागरिकता लिएका रहेछन्। 

निजले मलाई पनि कानुनी रुपमा नेपाली नागरिकता बनाइदिने भनी कानुनी मान्यता पाउने गरी नेपाली नागरिकता लिन कृष्णबहादुर कटुवालसँग एक पटक काठमाडौंको बबरमहलमा भेटाएका हुन्।

अर्का देवराज गौतमलाई नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जाँदा कार्यालयमा देखेको हुँ। उनी कर्मचारी हुन् जस्तो लाग्छ। मिति २०७९चैत २३ गतेको खानतलासी तथा बरामदी मुचुल्कको रोहवरमा भएको मेरो नाममा गरेको सहीछाप मैले गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट निमा ल्हामो गुरुङको नाममा जारी....३५७ नम्बरको नेपाली नागरिकता मेरो साथबाट बरामद भएको हो। चिनेर सनाखत गरी दिएँ।

मेरो साथबाट बरामद नागरिकतामा भएको फोटो र बाहकको औँठाछाप मेरो हो। त्यो पनि सनाखत गगरिदिएँ। म तिब्बती नागरिक हुँ। सानैदेखि परिवारसहित नेपालमा बसिआएको छु।

सानैदेखि नेपालमा बसेको हुँदा तिब्बत फर्किने अवस्था छैन। नेपालमै बसी केही काम गर्ने सोचमा थिएँ। यसै क्रममा तिब्बती नागरिक बताउने कान्छा गुरुङ भन्नेले मलाई नेपाली नागरिकता लिन काठमाडौं बबरमहलमा यसै मुद्दामा पक्राउ परेका कृष्णबहादुर कटुवालसँग भेटाई कुरा गराए।

निजले धेरै तिब्बती नागरिकहरुको विधिगत तवरले नेपाली नागरिकता जारी हुने व्यवस्था गरिदिएको छु। त्यसका लागि ५ लाखमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समन्वय गरी कानुनी रुपमा मलाई पनि नेपाली नागरिकता उपलब्ध गराइदिन्छु, फरक पर्दैन। कानुनी मान्यता पाउँछ, पछि कुनै समस्यामा परिँदैन भनेका थिए। 

मेरो बुबाको मृत्यु भइसकेको हुँदा कान्छा गुरुङको छोरी बनाई मेरो नाम निमा ल्हामोको पछाडि गुरुङ थपी निमा ल्हामो गुरुङको नामबाट नागरिकता बनाइदिने विश्वास दिलाए। 

मेरो नागरिकता लिने फाराम भरि मबाट ५ लाख रुपैयाँ नगदै लिए। नागरिकता लिन आवश्यक पर्ने सम्पूर्ण कागजातहरु निजले नै व्यबस्था गरिदिए। के, के कागजात कसरी व्यवस्था गरे मलाई थाहा भएन। सम्पूर्ण तयारीपछि कान्छा गुरुङको साथमा नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पठाए।

कर्मचारीले केही नसोधी कान्छा गुरुङ र मेरो सही छाप गराए। केही समयपछि निमा ल्हामो गुरुङको नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मेरो नाममा नेपाली नागरिकता जारी भएको हो।

कृष्णबहादुरले के कस्तो परिपञ्च मिलाई मलाई नागरिकता जारी गर्ने व्यवस्था गरे थाहा छैन। कान्छा गुरुङ भन्ने व्यक्ति मेरो बुवा होइनन्।

मेरो ठेगाना काठमाडौं महानगरपालिका वडा नम्बर १७ होइन। कान्छा गुरुङलाई नक्कली बुवा बनाएर झुटो व्यहोराको ठेगाना राखी नागरिकता लिने व्यवस्था कृष्णबहादुरले मिलाइदिएका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको पत्रसाथ प्राप्त हुन आएको मैले नेपाली नागरिकता लिँदा पेश गरेको अनुसूची फाराममा भएको निवेदक निमा ल्हामो गुरुङको औँठाछाप मेरो हो।

काठमाडौं महानगरपालिका १७ वडा कार्यालय र वडाध्यक्ष नवीन मानन्धरको रबरछाप कहाँबाट उपलब्ध भएर कसरी लगाए, वडाध्यक्ष नवीन मानन्धरको तर्फबाट दस्तखत कसले गरे? मलाई थाहा छैन।

मैले नागरिकता लिने सम्पूर्ण व्यवस्था कृष्णबहादुरले मिलाएका हुँदा निजलाई थाहा होला। नागरिकता लिँदा पेश भएका निमा ल्हामो गुरुङको नामको जन्म दर्ता प्रमाण पत्र, एसएलसीको मार्कसिट र सर्टिफिकेट समेतको शैक्षिक प्रमाण पत्र, १७ वडा कार्यालयको नगदी रसिदको प्रतिलिपि, कान्छा गुरुङको नागरिकताको प्रतिलिपिसमेत देखाउँदा हेरी देखेँ। उल्लेखित सम्पूर्ण कागजात झुटो हो। उल्लेखित कागजात कृष्णबहादुरले उपलब्ध गराई नेपाली नागरिकता लिने फाराम संलग्न गरी पेश गरेका हुन्। 

निजले कृष्ण बहादुर कटुवालको मोबाइलबाट प्रिन्ट गरी पेश भएको भन्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट निमा ल्हामो शेर्पाको नाममा जारी ...३५७ नम्बरको नागरिकता कटुवालको सहयोगमा मैले लिएको नागरिकताको प्रतिलिपि हो।

अन्य नागरिकता को कसको हो थाहा छैन। काठमाडौं महानगरपालिका वडा नम्बर ११ हनुमानस्थानस्थित कृष्णबहादुरको कार्यालयबाट बरामद फोटोमध्ये एउटा मेरो हो। अन्य फोटो कसको हो, मलाई थाहा छैन।

मेरो फोटो कृष्णबहादुरले नागरिकता बनाउने प्रयोजनको लागि लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .