समाज


पाँच वर्षपछि पुनःसञ्चालनमा आयो बायोग्यास प्लान्ट

पाँच वर्षपछि पुनःसञ्चालनमा आयो बायोग्यास प्लान्ट

नेपालखबर
चैत २८, २०७९ मंगलबार २०:५०, काठमाडौँ

काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनःसञ्चालनमा ल्याएको छ।

फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी गत शनिबारदेखि पुनःसञ्चालनमा ल्याएको कामपाले जनाएको छ।

कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दीगो व्यवस्थापनका लागि परियोजना पुनःसञ्चालनमा ल्याइएको बताए। 

उक्त प्लान्ट सञ्चालनमा ल्याउन विगत दुई महिनादेखि राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरी पुनःसञ्चालनमा आएको हो। परियोजना सञ्चालनको लागि युरोपियन युनियनले रु चार करोड ६० लाख र कामपाले रु एक करोड ८२ लाख लगानी गरेको थियो।

एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित परियोजनाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहर आवश्यक पर्छ। उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार पाँच सय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता रहेको छ।

अहिले बिजुली उत्पादनकै लागि फोहर जम्मा गरेर कम्पोष्टिङ गर्ने काम भईरहेको छ।

विसं २०७० देखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएकामा विसं २०७४ मा तत्कालीन नगरप्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरी आधिकारिक रूपमा सञ्चालन गरिएको थियो। लामो समयदेखि वायोग्यास प्लान्ट बन्द हुँदा वायोग्यास उत्पादनमा समस्या हुनाका साथै वायो ऊर्जासम्बन्धी नेपालमा अध्ययन तथा विद्यावारिधि गर्ने विद्यार्थीलाई समस्या भएकाले पुनःसञ्चालनमा ल्याइएको बताइएको छ।

प्लान्ट सञ्चालनमा आएसँगै कामपाले कुहिने फोहर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ। 
    
त्यसैगरी कामपाले फोहरको थप व्यवास्थापनको गर्न भन्दै  कम्पोष्ट मल बनाउने कार्यको पनि थालनी गरेको छ। टेकुस्थित ट्रान्सफर स्टेशनमा एक स्थानबाट मात्रै कुहिने फोहरबाट मल बनाउन सुरु गरेको कामपाले पुनः टेकुमा नै अर्को एक स्थानमा कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने कार्यको सुरु गरिसकेको छ।

परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी एक महिनाभित्र अन्तिम फोहर विसर्जन स्थान वञ्चरेडाँडामा पनि उक्त प्रक्रिया सुरु गर्ने तयारी कामपाको छ। मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने प्रमुख श्रेष्ठको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad