फोटो जर्नलिस्ट क्लब, नेपालले विगत ७ वर्षदेखि बर्सेनी आयोजना गर्दै आएको फोटो प्रतियोगिताको ७ औं संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा गरेको छ। क्लबले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको घोषणा गरेको हो।
ग्लोबल आइएमई बैंक नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल फोटो प्रतियोगिता २०७६ सुुरु भएको घोषणा गरेका थिए। उनले आफूले खिचेको फोटोलाई फोटो प्रतियोगितामा समावेशका लागि अनलाइन इन्ट्री गरी प्रतियोगिताको शुरुवात गरेका थिए।
विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आइतबारबाटै फोटो दर्ता गराउन सक्नेछन्। क्लबको आधिकारिक वेभसाइट www.pjclub.com.np वा https://npc.photonepal.travel/nepal-photo-contest-2076 मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ। प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन्। प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन्।
तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर भने समावेश गराउन पाइने छ। उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनुपर्ने छ। आइतबारबाटै सुरु हुने दर्ता प्रक्रिया माघ १७ मध्यरात १२ बजे बन्द हुनेछ।
फोटो प्रतियोगिताको घोषणासँगै गत वर्षको फोटो प्रतियोगितामा समावेश फोटोहरूको संग्रह पुस्तक 'नेपाल ल्याण्ड अफ कन्ट्रास्ट- ५' पनि लोकार्पण गरिएको थियो।

कार्यक्रमका ग्लोबल आइएमई बैंक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक विमल कँडेल, शिखर इन्स्योरेन्स प्रालिका वरिष्ठ प्रवन्धक सुरज राजवाहक, अर्घाखाँची सिमेन्ट प्रालिका कामु महाप्रवन्धक रमेश थापा, मनराम ग्रुपका संरक्षक मनमाया श्रेष्ठ र फोटो जर्नलिस्ट क्लब नेपालका अध्यक्ष विकास कार्कीले 'नेपाल ल्याण्ड अफ कन्ट्रास्ट-५' फोटो पुस्तकको लोकार्पण गरेका थिए।

प्रतिक्रिया