निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानको अश्लील भिडिओ बाहिरिएको छ।
खानले भने उक्त भिडिओ ६ महिना पहिलेको भएको बताएका छन्। उनले मंगलबार साँझ नेपालखबरसँग कुरा गर्दै भने, ‘मेरो कुराकानी त भएको हो, तर काटकुट पारिएको हो। ममाथि षड्यन्त्र भयो।’
सुरुमा भारतीय युवतीले आफूलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको उनले बताए।
फेसबुकमा साथी बनेर करिब २० दिन कुरा भएपछि ह्वाट्सएपमा भिडिओ कल गरेर अश्लील फोटो र भिडिओ देखाएको बताए।
‘सुरुमा त मसँग राम्रोसँग र प्रोफेसनल नै कुरा गरेका थिए। तर पछि ह्वाट्सएपमा कुरा हुँदा भने सिधै त्यस्ता फोटो र भिडिओ देखाउन थाले’, उनले भने, ‘पछि साथीहरुको प्रोफाइलमा पनि हालिदिएछन्।’
प्रहरीलाई आफूले सुनाउँदा यस्ता धेरै केसहरु आएको बताएको पनि उनले नेपालखबरसँग भने।
‘प्रहरीले यसमा केही टेनसन लिनु पर्दैन। हामी अनुसन्धान गरेर भिडिओ पनि हटाउँछौं भनेका थिए। इन्डियातिर पनि हामी पठाउँछौँ भनेका थिए’, खानले भने।
खानले तीनदिन अघिमात्रै मन्त्रीबाट राजीनामा दिएका थिए।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष समेत रहेका खान माघ ११ गते मन्त्री बनेका थिए।
तर जनमतले उद्योग मन्त्रालय माग गरेको थियो। उक्त मन्त्रालय नपाएपछि चैत १७ गते उनले मन्त्रीबाट राजीनामा दिएका थिए। खान जनमतका समानुपातिक सांसद पनि हुन्।
Shares

प्रतिक्रिया