ad ad

समाज


सिक्टा सिचाइँमा भ्रष्टाचार : पूर्वमन्त्री पाण्डेसहितलाई विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार

सिक्टा सिचाइँमा भ्रष्टाचार : पूर्वमन्त्री पाण्डेसहितलाई विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०७९ मंगलबार १८:१३, काठमाडौँ

बाँके जिल्लामा निर्माणका क्रममा रहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

अख्तियारले पूर्वमन्त्री एमव् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा मंगलबार पुनरावेदन गरेको हो। उनी आयोजना निर्माणको ठेक्का लिएको कालिका कन्ट्रक्सन जेभीका मालिक हुन्। 

दुई अर्ब १३ करोड ७६ लाखको बिगो कायम गरी चलाइएको मुद्दामा विशेष अदालतले पाण्डेसहितलाई सफाइ दिएपछि असन्तुष्ट अख्तियारले आवश्यक प्रमाणसहित सर्वोच्चमा पुनरावेदन गरेको हो। 

विशेषले यसअघि पनि सफाइ दिएका मुद्दामा अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्दै आएको छ। विशेषबाट यसअघि पनि भएका फैसलामा चित्त नबुझेपछि अख्तियारले पुनरावेदन गर्दै आएको छ। 

पहिलो श्रेणीका ठेकेदार पाण्डेसहितविरुद्ध सिक्टा सिँचाइ आयोजना अलपत्र पारेको अभियोग छ। तर विशेष अदालतले उनीसहित २१ जनालाई गत असार ५ गते विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सफाइ दिएको थियो। 

सिक्टा सिचाइँ योजना सरकारले १३ अर्बभन्दा धेरै खर्चेर निर्माण गरिरहेको छ। १० वर्षभन्दा धेरै समय लगाएर निर्मित यो आयोजनामा पानी छाड्नेबित्तिकै भत्किएको थियो। 

उक्त प्रकरणमा छानबिन थालेको अख्तियारले भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा चलाएको थियो। 

परीक्षणका लागि पानी छाड्नेबित्तिकै सिक्टाको मूलनहर नै भत्किएको थियो। त्यसपछि डिजाइन र निर्माणमा गम्भीर त्रुटी भएको ठहरसहित अख्तियारले छानबिन थालेको थियो। छानबिनपछि अख्तियारले पाण्डेसहित २१ जनाविरुद्ध २०७५ मंसिरमा मुद्दा चलाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .