केही दिनदेखि जारी वर्षा र हिमपात आज (आइतबार)बाट रोकिने भएको छ।
मौमस बदली गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेकाले अब देशका कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।
‘आज (आइतबार) र भोलि (सोमबार) कतै वर्षा तथा हिमपातको सम्भावना छैन,’ नेपालखबरसँग उनले भने, ‘तर उच्च हिमाली भेगमा अझै अलिअलि बादल भएकाले कतै छिटफुट हिमपात हुन सक्छ।’
यस्तै काठमाडौं उपत्यकामा अहिले आंशिक बदली छ तर बिस्तारै मौसम खुल्दै जाने मौसमविद् पौडेलको अनुमान छ।
तर अब तराई तथा पहाडी भेगमा समेत बिहान बिहान हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए। वर्षाको पानीले जमिन भिजेकाले त्यसबाट जलवाष्प उत्पन्न भई हुस्सु/कुहिरो लाग्ने उनको भनाइ छ।
जसका कारण केही दिनदेखि हुस्सु/कुहिरोबाट मुक्ति पाएका तराईवासीले फेरि बिहान बिहान कठ्यांग्रिँदो जाडोको सामना गर्नुपर्ने भएको छ। न्यून चापीय प्रणाली सक्रिय भई आकाशमा बादल लाग्दा केही दिनयता तराईमा हुस्सु/कुहिरो लाग्न छाडेको थियो।
‘अब फेरि बिहान बिहान ठण्डी बढ्न सक्छ,’ वरिष्ठ मौसमविद् पौडेलले भने।
मंगलबार नेपालको पश्चिमी क्षेत्रबाट भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबारसम्म देशभर वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको थियो।
वर्षा र हिमपातबाट विशेषगरी पश्चिमी क्षेत्रको जनजीवन कष्टकर भएको थियो। कतिपय ठाउँमा राजमार्ग तथा विमानस्थलसमेत अवरुद्ध भएका छन्।
Shares

प्रतिक्रिया