छापा खबर


१५ हजारले आँखाको नानी प्रत्यारोपण गरेर ज्योति पाए, ८० हजार पर्खाइमा

१५ हजारले आँखाको नानी प्रत्यारोपण गरेर ज्योति पाए, ८० हजार पर्खाइमा

नेपालखबर
पुस २०, २०७६ आइतबार १:२३,

सिन्धुपाल्चोक हेलम्बुकी कुमारी लामा सात वर्षको हुँदा बायाँ आँखामा आनो आयो ।

उनका बुबाले आनो निचोरेर मल्हम लगाइदिए । दायाँ आँखामा पनि आनो सर्ने डरले मल्हम लगाइदिए । तर, त्यही मल्हम कुमारीका लागि अभिशाप बन्यो ।

दुवै आँखाको ज्योति गुम्यो । अभिभावकले कुमारीलाई अस्पताल लगेनन्, अन्धविश्वासका कारण केही समय धामी, झाँक्री र मन्दिर चहार्दै हिँडे । पछि तिलगंगा आँखा अस्पतालले उनको देब्रे आँखाको नानी प्रत्यारोपण गरेर ज्योति फर्काइदियो ।

२२ वर्षअघि कुमारीको देब्रे आँखामा ज्योति दिएको तिलगंगाले २ पुसमा दाहिने आँखामा पनि ज्योति फर्काइदिएको छ ।

स्याङ्जाका सविन बोगटी जन्मजात दृष्टिविहीन थिए । उनको समस्या परिवारले तीन वर्षपछि मात्रै थाहा पायो ।

उपचारका लागि पोखरा लग्यो । उपचार सम्भव नभएपछि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज ल्यायो । तर, शिक्षण अस्पतालमा पनि उपचार सम्भव नभएपछि तिलगंगा आँखा अस्पतालमा उपचार भयो।

डा. लिना बज्राचार्य र डा. रिता गुरुङले चार वर्षको फलोअपपछि शल्यक्रिया गर्न सुझाब दिए । तर, आँखा देख्ने–नदेख्ने सम्भावना बराबर हुने चिकित्सकले बताएका थिए । जन्मजात दृष्टिविहीन सबिनको उपचारमा जोखिम मोल्न परिवार राजी भयो।

०६३ मा उनको दायाँ आँखाको शल्यक्रिया भयो । त्यसवेला सबिन ११ वर्षका थिए ।

‘आँखाको नानी दानको विकास नेपालमा नहुँदो हो त म जीवनभर दृष्टिविहीन हुने थिएँ,’ उनी भन्छन्, ‘अहिले म राम्रोसँग सवारी साधन चलाउन सक्छु । दायाँ आँखा देख्न सक्ने भएपछि बायाँ आँखाको पनि शल्यक्रिया भयो, जतिवेला म १५ वर्षको थिएँ । अहिले दुवै आँखा राम्ररी देख्न सक्छु ।’

आँखाको शल्यक्रियापछि ११ वर्षको उमेरमा विद्यालय भर्ना भएका उनी हाल स्नातक तेस्रो वर्षमा अध्ययनरत छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

तिलगंगा आँखा बैंकका अनुसार हरेक वर्ष सात हजार व्यक्तिको आँखाको नानी प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । तिलगंगा आँखा प्रतिष्ठानस्थित नेपाल आँखा बैंकका प्रबन्धक शंकर त्वायना प्रतिवर्ष न्यूनतम सात हजार आँखाको नानी आवश्यक पर्ने बताउँछन्।

बैंकका अनुसार हरेक वर्ष १२ सयको संख्यामा मात्रै नानी प्राप्त हुने गरेको छ । चाडबाड र वर्षा ९असार–साउन० को समयमा प्रत्यारोपणमा नआउने भएकाले मागलाई धानेको छ । मृत्युपछि हुने आँखाको नानी दानलाई संस्कारमा बदल्न आवश्यक ठान्छन्, आँखा बैंकका प्रबन्धक त्वायना।

हाल दुई हजारको संख्यामा बिरामी प्रत्यारोपणको पर्खाइमा छन् । विगतमा तीन वर्षसम्म कुरेर नानी प्रत्यारोपण गराउने समस्या अहिले समाधान भइसकेको छ । हाल एक हप्ताको पर्खाइमा नानी प्र्रत्यारोपण गर्न सक्ने अवस्था छ।

तिलगंगा आँखा प्रतिष्ठानस्थित नेपाल आँखा बैंकले १५ हजारलाई दानबाट प्राप्त भएको नानी प्रत्यारोपण गरी पुनःदृष्टि प्रदान गरेको छ ।

आँखा बैंकका अनुसार मृत्युपछि आँखाको नानी दान गर्न चाहनेको संख्या ८० हजार पुगेको छ । तर, १५ हजारको हाराहारीमा मात्रै प्राप्त भएको छ।

मृत्युपश्चात् निकालिएको आँखाको नानी नेपालमा दुई हप्तासम्म मात्रै राख्न सकिने आँखा बैंकका प्रबन्धक शंकर त्वायनाले बताए । उच्च प्रविधिले सुविधायुक्त देशले भने एक महिनासम्म राख्ने गरेका छन् । ‘प्र्रत्यारोपणको पर्खाइमा धेरै भएकाले यहाँ एक हप्ता पनि राख्नुपर्ने अवस्था छैन,’ त्वायना भन्छन् ।

एउटा आँखाको नानी प्रत्यारोपणको तयारी अवस्थामा राख्न १९ हजार ६ सय खर्च हुन्छ । विशेष प्रकारको आँखाको नानीलाई प्रशोधन गरी एउटा आँखाको नानीबाट दुईजनालाई प्रत्यारोपण गर्न पनि सकिन्छ ।

यस्तो अवस्थामा प्रशोधन खर्च झन्डै ४५ हजार लाग्छ । तर, यो सबै खर्च तिलगंगा आँखा प्रतिष्ठानको समन्वयमा नबिल फाउन्डेसनले व्यहोर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad