ad ad

समाज


आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, यस्तो छ यो दिवसको इतिहास

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, यस्तो छ यो दिवसको इतिहास

नेपालखबर
फागुन २४, २०७९ बुधबार ८:३६, काठमाडौँ

आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ। नेपालमा पनि आज यो दिवसका अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्।

हरेक वर्ष ८ मार्चका दिन विश्वभरी यो दिवस मनाइन्छ। यो दिवसलाई कतिपयले अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा पनि मनाउने गरेका छन्। 

नेपालका विभिन्न कम्युनिष्ट घटक निकट महिला संघसंस्थाले यो दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउँछन् भने कांग्रेस निकट संघसंस्थाले अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरेको पाइन्छ।

दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। विशेषगरी महिला संघसंस्थाले आज विविध कार्यक्रम गर्दैछन्।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको सम्झनामा विश्वभर यो दिवस मनाउने प्रचलन सुरु भएको हो।

नेपालमा यस वर्ष  ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताले शुभकामना सन्देश व्यक्त गरेका छन्।

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे।

महिला हक अधिकारको माग गर्दै भएको सोही आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन्। 

उनको प्रस्तावलाई सम्मेलनले पारित गरेपछि हरेक वर्ष ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .