समाज


रुप्से खोलामा ‘बेलिब्रिज’

रुप्से खोलामा ‘बेलिब्रिज’

नेपालखबर
फागुन २३, २०७९ मंगलबार ७:४८, काठमाडौँ

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान सुरु भएको हो।

आयोजनाका इञ्जिनियर विष्णु चापागाईंले रुप्से खोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि सवारीसाधन आवातजावत सहज बनाउन बेलिब्रिज राख्न लागिएको बताए।

‘ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले बेलिब्रिज राख्न पूर्वाधार निर्माण सुरु गरेका छन्’, उनले भने, ‘एक वर्षभत्रमा बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्य छ।’

बेलिब्रिज जडान गर्न मुक्तिनाथ निर्माण सेवाले रु तीन करोड ५६ लाखमा यसै महिना ठेक्का सम्झौता गरेका छन्।

सो कम्पनीका सञ्चालक ओम गौचनले सम्झौता लगत्तै बेलिब्रिजको फाउण्डेशन र पर्खाल निर्माणको काम थालेको बताए।

कम्पनीमार्फत बेलिब्रिज निर्माणका साथै रुप्सेखोला नजिकै सडक निर्माण र पहिरो पनि पन्छाउने सम्झौता भएको छ।

विसं २०६४ मा जडान गरिएको महभिर र पोखरे बगरको बेलिब्रिज त्यहाँ पक्की पुल बनेपछि एक वर्षदेखि प्रयोगविहीन छ। सो मध्यै एक वटा बेनी–बगरफाँट र अर्को रुप्से खोलामा स्थानान्तरण गर्न लागिएको हो।

पुलको अभावमा वर्खायाममा रुप्से खोलामा बाढी आउँदा मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा अवरुद्ध हुने गरेको छ। विसं २०७७ साउनमा बाढीले रुप्से खोलामा निर्माणाधीन पक्की पुलको संरचना बगाएपछि निर्माण रोकिएको छ।

निर्माणका क्रममा रहेको रुप्से र मुस्ताङको खहरेखोलाको पुलको संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दुरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बेनी जोमसोम कोरला सडक आयोजनाले जनाएको छ।

४० मिटर लम्बाइ भएको रुप्से खोलाको पुलको दुईतर्फ पिलर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जग नै खलबल्याउने गरी बाढीले बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ।

भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad