रुकुम (पश्चिम) को मुसिकोट नगरपालिका–५ थर्पु डिक्रेस्थित श्री शाइकुमारी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष र तत्कालीन प्रधानाध्यापकमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गोविन्द बहादुर केसी र तत्कालीन प्रधानाध्यापक लालबहादुर केसीसमेतले विभिन्न व्यक्ति तथा समितिलाई विद्यालयको रकम कानून विपरीत लगानी गरी दुरुपयोग गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बागबजार रावलबारा थर्पु डिक्रे सडक निर्माणको लागि राज्य कोषबाट बजेट आएकोमा विद्यालयबाट पनि रकम लगानी गरी दुरुपयोग गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा उनीहरुले विद्यालय व्यवस्थापन समितिबाट विभिन्न मितिमा निर्णय गरी गराई शिक्षा नियमावली २०५९ को नियम १६५ विपरीत विद्यालयको ८ लाख ९४ हजार विभिन्न व्यक्ति¸ सडक निर्माण समिति र वन उपभोक्ता समूहसमेतलाई ऋणकर्जा दिई उक्त रकम फिर्ता नगरी नगराई खाईमासी बदनियतपूर्वक नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।
निजहरुउपर बिगो ८ लाख ९४ हजार रुपैयाँ कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
Shares

प्रतिक्रिया