संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका व्यक्तिलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेकी छन्।
इलामको सूर्योदय नगरपालिका ११ का ३६ वर्षीय प्रेम आचार्यले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिरिँदै गर्दा आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।
उनलाई तत्काल उद्धार गरेर कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो। त्यहाँ आईसीयूमा राखेर उपचार भइरहेको छ। उनको शरीरको ८० प्रतिशत भाग जलेको उपचारमा संलग्न डा. सुरेन्द्र बस्नेतले जानकारी दिएका छन्।
राज्यमन्त्री कार्कीले भने उनको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन्। राज्यमन्त्री कार्कीले गम्भीर अवस्थामा रहेका आचार्यसँग कुरा समेत गरेकी छन्।
आचार्य मान्छे चिन्न सक्ने अवस्थामा छन्। तर उनको स्वास्थ्य अवस्था जटिल रहेको डा. बस्नेतले बताए।
डा. बस्नेतसँग राज्यमन्त्री कार्कीले भनिन्, ‘जे जसरी सकिन्छ बचाउने प्रयास गर्नुहोस्। हाम्रो तर्फबाट के गर्नुपर्छ त्यसका लागि हामी तयार छौं।’
प्रतिक्रिया