समाज


बीपी प्रतिष्ठानका उपकुलपति गिरी नक्कली ‘प्रोफेसर’, अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

बीपी प्रतिष्ठानका उपकुलपति गिरी नक्कली ‘प्रोफेसर’, अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

नेपालखबर
माघ ९, २०७९ सोमबार १८:३२, काठमाडौँ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफ्नो नामका अगाडि प्रयोग गर्दै ‘प्रोफेसर’ पद नक्कली भएको खुलेको छ।

उनले कुनै विश्वविद्यालयबाट मान्यता प्राप्त नगरी ‘प्रोफेसर’का रुपमा आफूलाई परिचित गराउँदै आएका थिए।

यस्तोमा उनको यो पद नक्कली भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

उनका लागि यो नक्कली ‘प्रोफेसर’ पद अनुमोदन गराउन मिलेमतो गरेको पाइएपछि डा. ज्ञानेन्द्रमान सिंह कार्कीविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ।

'डा. ज्ञानेन्द्र गिरीले बीपी प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि अरुले विश्वास गरोस् भनी बदनियतसाथ आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाएँ भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको छ', अख्तियारले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा त्यही ऐनको दफा १५ बमोजिम सजाय हुन र त्यही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदावी लिइएको छ।'

त्यसैगरी अख्तियारले डा. कार्कीविरुद्ध पनि मतियारका रुपमा मुद्दा चलाएको छ। 'डा. ज्ञानेन्द्र गिरीलाई प्रोफसर पद अनुमोदनका लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा निजले नियुक्ति दिएको आधारमा प्रतिवादी ज्ञानेन्द्र गिरीले नपाएको ओहदा प्रयोग गरेको पाइयो', अख्तियारले भनेको छ, 'उक्त कार्यमा निज कार्कीको मतियारको भूमिका देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवम् भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्ने निर्णय भएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad