समाज


काठमाडौंमा अब वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने

काठमाडौंमा अब वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने

नेपालखबर
माघ ९, २०७९ सोमबार ७:४२, काठमाडौँ

काठमाडौं महानगरका वडाबाटै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन कार्य हुने भएको छ। यसका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले वडाध्यक्ष र सचिवहरुका लागि शुक्रबार अभिमुखीकरण आयोजना गरेको थियो।

यसअघि राष्ट्रिय सभा गृहबाट विवरण संकलन हुने गरेको थियो। भोलि (माघ १०) गतेदेखि भने वडाबाटै विवरण संकलन हुने महानगरले जनाएकाे छ।

अभिमुखीकरण कार्यक्रममा प्रस्तुतिकरण गर्दै विभागका महानिर्देशक तीर्थराज भट्टराईले सुरुमा केही वडाबाट काम थालनी  गर्ने र एक हप्ताभित्र सबै वडामा सेवा पुर्‍याउने लक्ष्यसहित योजना गरिएको बताए। 

नागरिकको पहिचानलाई डिजिटल पहिचान गर्ने, व्यक्तिगत र जैविक पहिचानलाई एकीकृत गर्ने राष्ट्रिय परिचय पत्र बनाउनुको अवधारणा हो। 

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन २०७६, कार्यविधि २०७७ परिचय पत्रका कानुनी आधार हुन्। यसमा जनसांख्यिक र जैविक विवरण समावेश हुन्छ। जनसांख्यिक विवरणमा नाम थर, जन्म मिति, लिङ्ग, राष्ट्रियता, स्थायी अस्थायी ठेगाना, बुबा आमा, पति पत्नी, बाजे बज्यैको नाम थर, नागरिकता सम्बन्धी सूचना पर्छन्।

यसैगरी जैविक विवरणमा दश औलाको छाप, आँखाको रङ्ग, अनुहारको फोटोलगायत विवरण पर्छन्।

परिचय पत्रका विषयमा जानकारी दिँदै महानिर्देशक भट्टराई भन्नुहुन्छ, यसप्रकारका विवरणबाट नागरिकको वास्तविक पहिचान प्रमाणीकरण हुन्छ।

सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, सामाजिक सुरक्षा, कर प्रणाली, राहदानी जस्ता सेवा यससँग आवद्ध हुने भएकोले सेवा वितरण र व्यवस्थापनमा सहज हुन्छ।

हरेक व्यक्तिलाई १० अङ्कको छुट्टाछुट्टै परिचय पत्र दिइन्छ।

विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, नागरिकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाण पत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिने महानगरले जनाएको छ।

नागरिकताको प्रमाणपत्रमा उल्लेखित भन्दा फरक स्थायी ठेगाना भएमा बसाइँ सराइ दर्ताको प्रमाणपत्र सक्कल प्रति लैजानुपर्छ।  राज्य पुनःसंरचनाका कारण ठेगाना परिवर्तन भएको हकमा त्यस्तो कागजात आवश्यक नपर्ने जनाइएको छ।

विवाहितको हकमा नागरिकताको प्रमाणपत्रमा पति वा पत्नीको नाम उल्लेख नभएमा वा फरक परेमा विवाह दर्ताको प्रमाण पत्रको सक्कल प्रति आवश्यक पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad