त्रिवि शिक्षण अस्पतालको परिसर। मंगलबार दिउँसो १ बजे। घुइँचोको बीचमा कालो ज्याकेट लगाएका एक वृद्ध बेलाबेलामा मधुरो स्वरमा बोल्थे, ‘म क्याप्टेन कमल केसीको बुबा।’
आइतबार पोखरामा यती एयरलाइन्सको ९ एन एएनसी एटीआर–७२–५०० विमान दुर्घटना हुँदा सिनियर क्याप्टेन कमलको मृत्यु भएको थियो। उनका बुबा वीरेन्द्र छोराको शव बुझ्नका लागि त्रिवि शिक्षण अस्पताल आएका थिए।
छोराको शोकमा रहेका वीरेन्द्रको मनस्थिति बारम्बार बदलिइरहेको थियो। उनी भीडको बीचमा उभिएर बेलाबेला आफ्नो परिचय दिन्थे, आफ्नो परिवारको स्थिति बताउँथे।
अचानक भक्कानिएर रुन्थे।
फेरि बुढेसकालमा छोराले छाडेर गयो भन्दै गुनासो गर्थे। कुनै बेला ‘अब त नाति पनि बुझ्ने भइसक्यो’ भन्दै मन बुझाउने कोसिस गर्थे।
त्यसैले वीरेन्द्रलाई आफ्न्तहरुले एक्लै छोडेका थिएनन्।
‘नातिले १५–१५ मिनेटको फरकमा फोन गर्दै खबर बुझिरहेको छ। छोरालाई पोखरामै दिएको भए जाति हुन्थ्यो काठमाडौं ल्याए,’ उनले भने।
वीरेन्द्र लामो समयदेखि उभिइरहेका थिए। सुरक्षाकर्मीले बस्न आग्रह गर्दा उनी ‘म ठिकै छु’ भन्दै टोलाउँथे।
आफन्तले सम्झाउन खोज्दा उनी सही थाप्थे। फेरि उस्तै भइहाल्थे।
‘सबैसँग बलियो भएजस्तो देखिन खोज्छु तर बाबु हुँ मनले मान्दैन,’ भन्न नपाउँदै उनको गला अवरुद्ध हुन्छ। उनका शब्दहरु गलामै अड्किन्छन्, चस्मा खोल्दै आँसु पुस्छन्।
छोरोको दुर्घटनालाई आफूले स्वीकार गर्न सके पनि बुहारीले त्यसलाई स्वीकार गर्न नसकेको उनको भनाइ थियो।
अर्धचेत अवस्थामा रहेकी बुहारीलाई उनका दुई छोराले सम्हालेका छन्।
‘नाति निकै बुझ्झकी भएछ, त्यहाँ धेरै सम्हालेको छ,’ वीरेन्द्रले भने, ‘छोराको शव सक्दो चाँडो बुझ्न पाए हुन्थ्यो। छोराको अन्तिम विदाई निकै राम्रोसँग सबै विधि पुर्याएर गर्ने इच्छा छ।’
४८ जनाको पोस्टमार्टम गर्नु पर्ने भएकाले छोराको पालो कति बेला आउने हो भन्दै उनी आत्तिइरहेका थिए।
वीरेन्द्रका तीन छोरामध्ये कमल जेठो हुन्।
तीनै जना छोराहरु काठमाडौँ बस्ने र बुढाबुढी मात्र पोखरा बस्नेगरेको उनले सुनाए।
क्याप्टेन कमलले अवकाश लिने समय पाँच वर्ष बाँकी भए पनि परिवारलाई समय दिन अवकाश लिने योजना बनाएको उनका काका रामबहादुर केसीले सुनाए।
शिक्षण अस्पतालमा पीडित परिवारजनका लागि भनेर पाल टाँगिएको थियो। नजिकै पिउने पानीका बोटलहरु पनि राखिएको थियो। शव बुझ्न आएका सबै बेचैन देखिन्थे। उपस्थित सबैको अनुहारमा पीडा पोतिएको थियो। प्रियजन गुमाएका मानिसहरु छिनछिनमा रुन्थे, आँसु पुछ्थे, कोही टोलाइ रहन्थे।
पोखरा लेखनाथका लवराज तिमिल्सिनाले २५ वर्ष दुबईमा बसेर काम गरे। बीचमा घर आइरहन्थे। यसपटक भने उनी विदेश नफर्किने गरी नेपाल आएका थिए तर घर पुग्न नपाउँदै उनी पनि त्यही दुर्घटना परे।
उनको शव पनि चिन्न सकिने अवस्था नभएपछि काठमाडौं ल्याइएको थियो। लवराजको शव सनाखतका लागि उनका ८ वर्षीय छोराको डीएनए परीक्षण गर्नु पर्ने भएको छ।
लवराजका मामाका छोरा अस्पतालमा थिए। उनी लवराजको बालक छोराको पर्खाइमा थिए।
‘लवराजको परिवारमा श्रीमती र एउटा छोरा मात्र छ। बुबा आमा पनि पहिला नै बितिसक्नु भयो। छोरालाई आमाले ल्याएर आउन सक्ने अवस्था नभएपछि उसकै ठूलोबुबाले ल्याउँदै छन्,’ उनले भने।
आइतबार पोखरामा भएको विमान दुर्घटनामा ७२ जनाले ज्यान गुमाए। शव पहिचान हुन नसकेका, चालक दल र विदेशी गरी ४८ जनालाई काठमाडौैंको त्रिवि शिक्षण अस्पतालमा ल्याइयो।
२०–२५ वटा एम्बुलेन्समा ती शवहरु ल्याइएको थियो। मारिएका एक परिचितको शव हेर्न महांकालबाट आएकी थिइन् गोमा निरौला। दुर्घटनामा परेका व्यक्तिकै घरमा उनी १० वर्ष बसेकी थिइन्।
‘लामो समय एकै घरमा बस्दा परिवारकै सम्बन्ध रह्यो,’ उनी भन्छिन्, ‘तर चार वर्ष भयो हामी अलि टाढा सर्यौँ। दुर्घटनामा परेको समाचार सुनेर आएकी।’
उनले थपिन्, ‘उहाँका छोराछोरी सबै बाहिर छन्। यहाँ बुढाबुढी मात्र बस्नु हुन्छ। यहाँ कोही आफन्त आएका छन् कि भनेर धेरै खोजेँ, कोही देखिनँ।’
प्रतिक्रिया