ad ad

समाज


यसरी हुन्छ जहाज दुर्घटनाको जाँच

यसरी हुन्छ जहाज दुर्घटनाको जाँच

वसन्त अर्याल
माघ २, २०७९ सोमबार १९:४५, काठमाडौँ

पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको अनुसन्धान सुरु भएको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जाँचबुझ आयोग गठन गरेको थियो। 

दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा दुर्घटना हुन नदिन अपनाउनु पर्ने सुझाव सहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न दुर्घटना जाँच आयोग गठन भएको हो।

आयोगले विमानमा महत्वपूर्ण सूचना रहने ‘ब्ल्याक बक्स’ पाएसँगै दुर्घटनाको तथ्य जाँचबुझ थालेको छ। 

दुर्घटना जाँच आयोगका संयोजक पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे छन्। सदस्यमा नेपाली सेनाका उपरथी तथा हवाई विज्ञ दीपकप्रसाद बास्तोला छन्। त्यस्तै, अवकाशप्राप्त क्याप्टेन सुनिल प्रधान, श्री एयरलाइन्सका मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा सदस्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव छन्। 

जाँचबुझ आयोग सदस्य सचिव रहेका मन्त्रालयको हवाई महाशाखा प्रमुख लामिछाने काठमाडौंमा भएको यूएस बाङ्ला एयरलाइन्स दुर्घटना, १४ अप्रिल २०१९ मा भएको समिट एयर दुर्घटना र १६ मे २०१८ मा सिमकोटमा भएको मकालु एयर दुर्घटनाको जाँचबुझ आयोगमा रहिसकेका छन्। प्रधान यूएस बाङ्ला विमान दुर्घटना जाँचबुझ आयोगका पनि सदस्य थिए। 

यस्तो छ जहाज दुर्घटना जाँच प्रक्रिया
सरकारले बनाएको ५ सदस्यीय जाँचबुझ समितिले जहाज उडानको इतिहास, जहाज दुर्घटनाको क्षति, पाइलट र को–पाइलटको कमान्डिङ सूचना, जहाज उत्पादकको सूचना, जहाजको सर्टिफिकेट, इन्धन, जहाजमा लोड कति थियोजस्ता विषयको अध्ययन गर्नेछ। 

दुर्घटना जाँच नियमावली २०७१ अनुसार यस्तो घटनामा जहाज उडानपूर्व उपकरणको अवस्था कस्तो थियो, बोर्डमा उपकरणको अवस्था, मौसमको अवस्था र स्याटलाइट इमेजको अध्ययन गरिन्छ।

जहाज उडानमा नेभिगेसनको सहयोग कस्तो थियो, सञ्चारको अवस्था, ककपिट भोइस रेकर्ड, फ्लाइट डाटा रेकर्डरको सूचना संकलन गरिन्छ। जाँचबुझ समितिले कम्पनीको व्यवस्थापकीय विषयमा समेत अध्ययन गरी रिपोर्ट तयार गर्नुपर्ने छ।

दुर्घटनाको कारण पत्ता लगाउने ‘ब्ल्याक बक्स’ 
जाँचबुझ आयोगले मुख्यत ‘ब्ल्याक बक्स’को आधारमा दुर्घटनाको कारण पत्ता लगाउने छ। ब्ल्याक बक्समा उडानको सबै जानकारी रेकर्ड हुन्छ। जसलाई आयोगले नियन्त्रणमा लिनेछ।

यसमा जहाजको पर्फमेन्स र प्यारामिटर (जहाज सञ्चालनको सीमा) रेकडए हुन्छ। जहाजको एयरस्पिड, उचाइ, भर्टिकल एक्सिलेरेसन र इन्जिनमा इन्धनको प्रवाह लगायतको जानकारी हुन्छ। 

ब्ल्याक बक्समा मुख्यतः २ कुरा हुन्छन्ः फ्लाइट डेटा रेकर्डर र ककपिटको भोइस रेकर्ड। जसमा पाइलट र विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलरबीचको कुराकानी रेकर्ड रहेको हुन्छ। पाइलट र एटीसीबीचको रेकर्डिङ कम्तीमा २ घण्टासम्मको हुन्छ। फ्ल्याइट डेटा रेकर्ड भने २५ घण्टासम्मको हुन्छ। 

ककपिटको भोइस रेकर्डिङ, एयर ट्राफिक कन्ट्रोल इकाइको रेकर्डिङ, फ्लाइट रेकर्ड, ककपिटको इमेज रेकर्डिङ गोप्य राख्नुपर्ने नियमावलीमा उल्लेख छ। 

आयोगले दुर्घटनाको कारण सहित आगामी दिनमा दुर्घटना रोक्न सुझाव पनि दिने छ। 

सुझाव आउँछन्, कार्यान्वयन हुँदैनन्
नियमावलीको दफा २१ मा आयोगले उडान सुरक्षालाई सुदृढ गर्न दुर्घटना जाँचको क्रममा वा अन्तिम प्रतिवेदन मार्फत कुनै सिफारिस गरेको भए कार्यान्वयन गर्नु पर्ने उल्लेख छ। 

तर, सरकारले दुर्घटना जाँचबुझ आयोगले सिफारिस गरेका सुझावहरुलाई कार्यान्वयन गरेर दुर्घटना न्यूनीकरण गर्न सकेको छैन।

जेठ १५ मा मात्रै तारा एयरको विमान पोखराबाट जोमसोम जाने क्रममा दुर्घटना भएको थियो। त्यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परेका थिए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणमा पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीले सुझाव कार्यान्वयन हुन नसकेको बताए।

‘आयोगले दिने गरेका सुझाव पूर्ण रुपमा कार्यान्वयन हुन सकेका छैनन्,’ क्षेत्रीले भने, ‘तर पहिलाभन्दा नियमन राम्रो हुँदै गएको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .