समाज


नो सेक्स, नो म्यारिज : हुर्किंदो कट्टर नारीवादी आन्दोलन

नो सेक्स, नो म्यारिज : हुर्किंदो कट्टर नारीवादी आन्दोलन

नेपालखबर
पुस १०, २०७६ बिहिबार १२:२४,

असल ब्वाइफ्रेन्ड बनाउने वा भव्य विवाह गर्नेे उनको सपना छैन। उनी एक्लै खुसीसाथ जीवन बिताउन चाहन्छिन्।

‘म विपरीतलिंगी महिला हुँ तर लोग्नेमान्छेसँग सम्बन्ध बनाउने मेरो कुनै चाहना छैन,’ बन्नी ली भन्छिन्।

यस्तो सोच्ने उनी एक्ली महिला होइनन्।

दक्षिण कोरियाली महिला आपसमा मिलेर कठोर पितृसत्तात्मक मान्यताहरुलाई अस्वीकार गर्न थालेका छन्। उनीहरु कहिल्यै विवाह नगर्ने, कहिल्यै बच्चा नजन्माउने र कहिल्यै यौन सम्बन्ध पनि नराख्ने कसम खाइरहेका छन्। र, यस्ता महिलाको संख्या बढिरहेको छ।

‘महिलाका लागि विवाह नगर्दाभन्दा विवाह गर्दा बढी बेफाइदा छन्,’ एउटा कुकुर पालेर राजधानी सोलनजिकै बसिरहेकी ४० वर्षीया ली भन्छिन्। उनले दुई विषयमा स्नातकोत्तर गरेकी छन्।

भर्खरै उनले देशका कट्टर नारीवादीहरुले अघि सारेका चार सूत्रलाई अँगालेकी छन्- डेटिङ नगर्ने, यौन सम्बन्ध नराख्ने, विवाह नगर्ने र बच्चा नजन्माउने। यसलाई फोर बी भनेर चिनिन्छ।

दक्षिण कोरियामा विवाहको दर घटेको छ। जहाँ पत्नीले काम गर्ने, बच्चा हुर्काउने र बुढाबुढी हुँदै गएका सासुससुराका हेरचाह पनि गर्ने अपेक्षा राखिन्छ। यी काममा राज्य र समुदायले खासै सहयोग गर्दैनन्।

‘वैवाहिक बजारमा तपाईंले पहिले जिउनुभएको जीवन र कामको अनुभवको अर्थ हुन्न,’ ली व्याख्या गर्छिन्, ‘खै कुन्नि के कारणले हो धेरै पढेको हुनु नकारात्मक गुण हो। तपाईंसँग पति र सासुससुराको हेरचाह गर्ने क्षमता छ कि छैन भन्नेले मात्रै अर्थ राख्छ।’

विवाह गरेर बच्चा जन्माएपछि उच्च शिक्षा लिएका साथीहरुले काम र घर दुवैतर्फ समस्या बेहोरेको उनले देखेकी छन्।

यस्तै विषयमा हालसालै एक फिल्म बनेको छ, ‘किम जी योङ, बर्न १९८२।’

विवादास्पद उपन्यासमा आधारित यो फिल्म त्यस्तो पात्रमा केन्द्रित छ, जो विवाहित हुन् र काम छोडेपछि बच्चा हुर्काउन उनले निकै कष्ट बेहोर्नुपर्छ।

यो फिल्मलाई महिला दर्शकले १० मध्ये औसतमा ९.५ अंक दिएका छन् भने पुरुषहरुले २.८।

पुरुषको हालीमुहाली चल्ने दक्षिण कोरियाली समाजका परम्परागत मान्यताहरुलाई महिलाहरुले अस्वीकार गर्न थालेका छन्। जहाँ घरेलु धन्दामा पुरुषले भन्दा महिलाले चार गुणा बढी समय गुजार्नुपर्छ।

कोरियामा एक दशकअघि एकल तथा कहिल्यै विवाह नगरेका महिलामध्ये ४७ प्रतिशतले विवाह आवश्यक छ भनेका थिए। गत वर्ष यो संख्या २२.४ प्रतिशतमा झरेको छ। सन् १९९६ मा सवा चार लाख जोडीले विवाह गरेका थिए भने गत वर्ष अढाई लाखले मात्र।

फोर बी समूहको आन्दोलनका समर्थक ४ हजार रहेको बताइन्छ।

विवाह र प्रजनन्लाई बहिष्कार गर्न आह्वान गर्ने एउटा नारीवादी युट्युब च्यानलका सब्सक्राइबार एक लाखभन्दा बढी छन्। सुन्दरताको मापदण्ड भत्काउने ‘इस्केप द कोर्सेट’ नामक आन्दोलनका केही सिद्धान्तलाई लीले पनि पालना गरेकी छन्। केही महिलाले मेकअप सामग्री तोडफोड गरिरहेको भिडियो भाइरल पनि बनेको थियो।

दक्षिण कोरियामा गत वर्ष हजारौँ महिला र केही पुरुषले शौच गरिरहेको, कपडा फेरिरहेकोजस्ता भिडियो पोर्न साइटमा राखिए। ती गुप्त क्यामराले खिचिएका थिए। यसैको पृष्ठभूमिका फोर बी समूह जन्मिएको हो।

गत वर्ष आफूलाई नारीवादी भन्ने एक प्रगतिशील पुरुष राजनीतिक नेता आफ्नी सहयोगीलाई बलात्कार गरेपछि जेल परे। त्यसपछि भने लीको पनि धैर्य टुट्यो।

‘यो समाज हामीलाई महिलाका रुपमा स्वीकार गर्न सक्दैन भन्ने मलाई महसुस भयो,’ उनी भन्छिन्, ‘त्यसपछि विवाह होस् कि डेटिङ, पुरुषसँगको मेलजोल मलाई अर्थहीन लाग्यो।’

महिलाहरु ‘निष्क्रिय, सहनशील र चुलबुले’ बनिदिनुपर्छ भन्ने अपेक्षा राखिने २४ वर्षीया युट्युबर युन जी हे पनि महसुस गर्छिन्। इस्केप द कोर्सेट आन्दोलनमा उनी पनि मिसिएकी छन्। उनले कपाल ठुटै पारेर काटेकी छन्, अनुहारमा मेकअप लगाएकी छैनन्।

‘युट्युब भिडियो हेर्दै मेकअपको तरिका सिक्न म घण्टौँ खर्चिन्थेँ,’ आफ्ना आमाबुबासँग बस्ने उनी भन्छिन्, ‘मेकअप सामग्री किन्न मात्रै म महिनामा २ सय डलर खर्च गर्थेँ।’

‘तर मेरो पूर्वप्रेमी लामो कपाल हुनुपर्छ भन्थ्यो र मेरो नारीवादी झुकावको समर्थन गर्दैनथ्यो,’ उनी भन्छिन्।

हाल उनी फोर बी समूहको सदस्य पनि हुन्। उनलाई डेटिङ र यौनको तिर्सना आउँदैन। ‘आफूलाई आनन्द दिने अन्य कयौँ विकल्प र तरिका छन्,’ उनी भन्छिन्।

२० देखि ४० वर्ष उमेरका धेरैजसो दक्षिण कोरियाली पुरुषहरुले गुप्त क्यामराले खिचेको पोर्न भिडियो हेरेकोमा उनी विश्वस्त छिन्। त्यस्ता थुप्रै भिडियो पूर्वप्रेमीहरुले अनलाइनमा राखेका थिए।

यसैकारणले पनि उनी त्यस्ता पुरुषसँग सम्बन्ध राख्न चाहन्नन्।

दक्षिण कोरियामा चलेकामध्ये फोर बी र इस्केप द कोर्सेट सबैभन्दा कट्टर नारीवादी आन्दोलन भएको स्ट्यानफोर्ड युनिभिर्सिटीका समाजशास्त्री सीन गी वुक बताउँछन्।

‘विवाह, मातृत्व, डेटिङ र यौनः यी चार चीजले महिलालाई पुरुषको अधीनमा पुर्‍याउँछ,’ उनी भन्छन्।

अर्कोतिर यसको प्रभावले देशमा जनसंख्या संकटको खतरालाई झनै बढाइदिएको छ।

जनसंख्या स्थिर राख्न महिलाको प्रजनन् दर २.१ हुनुपर्छ। तर, सन् २०१८ मा यो दर घटेर ०.९८ मा पुगेको छ।

दक्षिण कोरियामा हाल साढे ५ करोड छ। सन् २०६७ मा घटेर ४ करोड पुग्ने सरकारी अनुमान छ। र, त्यसबेला देशको आधा जनसंख्या ६२ वर्षभन्दा माथि हुनेछ।

युवाहरुले विवाह गरुन् भनेर सरकारले नवविवाहितका लागि घरमा छुट दिएको छ।

तर, ली यस्तो फाइदा लिन चाहन्नन्। उनका लागि भविष्य भनेकै महिला मात्र हुन्।

‘मेरो सपना भनेको महिलाका लागि मात्र घर बनाउनु हो। र, त्यो महिलाको विवाह गर्ने योजना छैन,’ उनी भन्छिन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad