समाज


सीमामा हुने अवैध गतिविधि रोक्न सशस्त्र प्रहरी मुख्यालयमा छलफल

सीमामा हुने अवैध गतिविधि रोक्न सशस्त्र प्रहरी मुख्यालयमा छलफल

नेपालखबर
पुस २१, २०७९ बिहिबार १८:१९, काठमाडौँ

सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ।    

बिहीबार मुख्यालय हलचोकमा जुत्ताचप्पल उत्पादक, बोट्लर्स नेपाल, नेपाल चिनी उद्योग संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उत्पादक संघ लगायतका प्रतिनिधिसँग छलफल गरेको हो। 

सीमा ईलाकाबाट त्यस प्रकारका सामान तथा वस्तुको चोरीतस्करी नियन्त्रण कसरी गर्न सकिन्छ, भन्ने विषयमा छलफल केन्द्रित रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै सरोकारवाला निकायसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताउँदै चोरीपैठारी नियन्त्रणमा संगठन प्रतिवद्ध भएको उल्लेख गरे।

छलफलका लागि मात्र छलफल नगरी समस्या पहिचानकासाथ समाधानको निष्कर्षमा पुग्ने संगठनको प्रयास रहेको उल्लेख गर्दै महानिरीक्षक अर्यालले एक निकायको एकल प्रयासले मात्र नियन्त्रण प्रभावकारी नहुने भएकोले सबैको सहकार्य र सहयोगमा मात्र परिणाम प्राप्त हुने बताए। 

उनले यस प्रकारका अवैध कार्य रोक्न सीमा ईलाकामा सबै पक्ष समेटेर कमिटी नै बनाई अघि बढ्ने उल्लेख गर्दै सशस्त्र प्रहरी बलले आफ्नो कार्यक्षेत्रमा कुनैपनि किसिमका अवैध गतिविधि गर्न नदिने नीति लिएको र त्यसलाई कडाईकासाथ पालना गराउन सीमा क्षेत्रका युनिटहरुलाई निर्देशन समेत दिइएको बताए।

कार्यक्रममा उल्लेखित संघ संस्थाका प्रतिनिधिहरुले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले उल्लेख्य कार्य गरिरहेको भएपनि देशका केही मुख्य नाकाबाट अवैध वस्तु भित्रन सक्ने भएकोले त्यस प्रकारका कार्यले राजश्वमा प्रत्यक्ष असर पर्ने र उद्योगधन्दा धरासायी हुने वा बन्द गर्ने अवस्था आउन सक्ने बताएका थिए।

चोरीतस्करी रोक्नको लागि सरोकारवाला अन्य निकायसँगको समन्वय र नाकाबाट नै नियन्त्रण गर्ने कार्य प्रभावकारी हुनेमा छलफलमा उपस्थित उद्योग व्यवसायीसँग सम्बन्धित प्रतिनिधिहरुले जोड दिएका थिए।    

कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर रहेपनि अवैध रुपले ती वस्तु मुलुक भित्रेको खण्डमा उद्योग धरासयी हुनेमा पनि उनीहरुको चिन्ता थियो। व्यवसायीहरुले अत्याधुनिक स्रोतसाधनसहित सीमा ईलाकामा सशस्त्र प्रहरी बलको जनशक्तिलाई बढाउँदै लैजानु पर्ने धारणा समेत व्यक्त गरेका थिए।

छलफल कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा हट लाईन नम्बर ९८५१२६०७३० को व्यवस्था गरिएको बताउँदै यस प्रकारका रिर्पोटिङ सिधै मुख्यालयलाई गर्नसक्ने व्यवस्था गरिएको हुँदा अवैध कार्य भएको थाहा भएमा तत्काल खबर गर्न समेत व्यवसायीहरुलाई आग्रह गरे। 

कार्यक्रममा मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सीमा नजिक पोल्ट्री फर्म र माछा पोखरी भएकोले अवैध रुपमा आएका त्यस प्रकारका वस्तुको नियन्त्रण प्रभावकारी हुन नसकेको व्यवहारिक कठिनाई औंल्याउँदै त्यसको उचित व्यवस्थापनको लागि सीमाबाट निश्चित दुरी तोक्नु पर्नेमा जोड दिए। 

यसैगरी प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी र लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्काले अवैध आयात हुनसक्ने नाकामा विशेष निगरानी राख्ने र त्यसका लागि व्यवसायीसँग पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे। 

विगत केही दिनदेखि सीमा क्षेत्रका बाहिनीपतिहरुसँग त्यस क्षेत्रका समस्या र समाधानको उपायकाबारे मुख्यालयमा छलफल चलिरहेका बेला सरोकारवाला अन्य निकायहरुसँग समेत समाधानको उपाय निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सीमा ईलाकामा सशस्त्र प्रहरी बलको सकृयताको कारण अघिल्लो आर्थिक वर्षको यहि अवधि पौष १८ गते सम्मको तुलनामा यो आर्थिक वर्षमा ४० प्रतिशत बढि बरामदी दाखिला भएको छ। 

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु र सुदूरपश्चिम प्रदेशस्थित नम्बर ७ बैद्यनाथ बाहिनीका निमित्त बाहिनीपतिको समेत उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad