समाज


सेवा नै रोकिएको भोलिपल्ट प्रधानमन्त्री कार्यालयको टोली राहदानी विभागमा

सेवा नै रोकिएको भोलिपल्ट प्रधानमन्त्री कार्यालयको टोली राहदानी विभागमा

राहदानी विभागमा प्रधानमन्त्री कार्यालयको टोली। तस्बिर : नेपालखबर


नेपालखबर
पुस २०, २०७९ बुधबार १७:३३, काठमाडौँ

सफ्टवेयरमा देखिएको समस्याले सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयस्थित सूचना तथा प्रविधि टोली राहदानी विभाग पुगेको छ।

प्रम कार्यालयबाट पुगेको सूचना तथा प्रविधि टोलीले विभागको त्रिपुरेश्वरस्थित कार्यालयको बुधबार निरीक्षण गरेको हो। राहदानी विभागले मंगलबार प्राविधिक समस्या आएको भन्दै अनिश्चितकालका लागि सेवा रोकिने भनेर सूचना निकालेको थियो।

टोलीले विभागका महानिर्देशक, प्रशासन र सफ्टवेयरको प्राविधिक सपोर्ट गर्ने टिमसँग अहिलेको समस्याबारे विस्तृत छलफल गरेको हो।

प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीले सम्झौताअनुसार कम्पनीले समस्या हल नगरेको निष्कर्ष निकालेर कम्पनीका कारण जनताले सास्ती भोग्नुपरेको जनाएको छ।

टोलीले तत्काल उक्त समस्या हल गर्न पनि विभाग र उक्त कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएको छ। 

कम्पनीको केन्द्रीय कार्यालयबाटै प्राविधिक झिकाएर तत्काल समस्या समाधान गर्न पनि टोलीले निर्देशन दिएको छ।

छलफलमा सेवाग्राहीले लामो समय लाइनमा नबसी राहदानी पाउने व्यवस्थाका लागि आवश्यक संरचनात्मक तथा नीतिगत सुधार र परिमार्जनका लागि तत्काल कार्ययोजना बनाउनसमेत भनेको छ। 

यसअघि गत पुस १३ गते गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमन गर्न पुगेका थिए

राहदानी बनाउन सेवाग्राहीले घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता रहेका बेला लामिछाने अघिल्लो बुधबार त्यहाँ पुगेर अनुगमन गरेका थिए। 

राहदानी र सवारी चालक अनुमतिपत्र लिन कयौँ सास्ती भोग्दै लाइन बस्नुपर्ने बाध्यता रहेको गुनासो उस्तै छ।

यस्तोमा अघिल्लो सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनताका आधारभूत काम गर्ने बताएका थिए।

मन्त्रिपरिषदको पहिलो बैठकपछि प्रधानमन्त्री प्रचण्डले यातायात कार्यालय र राहादानी कार्यालय लगायतमा लाइन बस्ने अवस्था हटाउने  बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad