जनता समाजवादी पार्टी नेपालको रौतहट जिल्ला सचिव लखिन्द्र यादव प्रभु साह नेतृत्वको नवगठित आम जनता पार्टीमा प्रवेश गरेका छन्।
आइतबार आजपा अध्यक्ष प्रभु साहको निवासमा यादवलाई साहले माला लगाई पार्टीमा प्रवेश गराएको प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए।
सचिव यादवसहित जसपाका प्रभावशाली नेता सर्जुग राय यादव र लालबाबु राय यादव पनि आजपा प्रवेश गरेका हुन्। यही पुस ६ गते यादवलाई जसपाले जिल्ला सचिवको जिम्मेवारी दिएको थियो।
हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको बेला जसपाका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले अधिकांश जिल्ला सदस्य सहित प्रभु नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा प्रवेश गरेका थिए।
गत विहीबार मात्र स्वतन्त्र सांसद एवम् पूर्वमन्त्री प्रभु साहले आम जनता पार्टी गठन गरेका थिए। पार्टी घोषणासँगै साहले पार्टीको संगठन विस्तार अगाडि बढाएका छन्।
पार्टी गठन घोषणाकै दिन प्रदेशको अध्यक्ष र ईन्चार्ज तथा जनवर्गीय संगठन र विभाग प्रमुखहरुको चयन गरेको थिए। आज अध्यक्ष साहले सर्कुलर जारी गरि मधेश प्रदेशका आठ वटै जिल्लाको अध्यक्ष, सचिव र ईन्चार्जको जिम्मेवारी तोकेको छ।
जसपाका तत्कालीन जिल्ला अध्यक्ष पटेलले आजपा जिल्ला अध्यक्षको जिम्मेवारी पाएकै दिन जसपाका बहालबाला जिल्ला सचिव आजपा प्रवेश गरेका हुन्।
Shares

प्रतिक्रिया