समाज


पुष्पा न्यौपाने मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन मुद्दामा सुधन संग्रौला जेल चलान

पुष्पा न्यौपाने मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन मुद्दामा सुधन संग्रौला जेल चलान

सुधनसँग इन्गेजमेन्ट तोडिएपछि आत्मदाह गरेकी पुष्पा न्यौपाने। फाइल तस्बिर


नेपालखबर
पुस १५, २०७९ शुक्रबार १७:१८, काठमाडौँ

काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले आत्मदाह गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले सुधन संग्रौलालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि न्यौपानले संग्रौलाको धुम्बाराहीस्थित घरअगाडि पुगेर आत्मदाह गरेकी थिइन्। 

उक्त प्रकरणमा पुष्पाका आफन्त उत्तम न्यौपानेले सुधनविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। 

उक्त जाहेरीअनुसार प्रहरीले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयले सुधनविरुद्ध यही पुस १३ गते काठमाडौं जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको थियो। 

उक्त मुद्दाको सुनुवाइ सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद पराजुलीले सुधनलाई पुर्पक्षका लागि जेल चलान गर्न बिहीबार आदेश दिएका हुन्। 

न्यायाधीश पराजुलीले मुद्दाको अन्तिम किनारा नलागेसम्म संग्रौलालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन्। 

मुलुकी अपराधसंहिता अनुसार आत्महत्या दुरुत्साहन कसुरमा दोषी ठहर भएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ।

इन्गेजमेन्टका क्रममा पुष्पा न्यौपाने र सुधन संग्रौला

झापा घर भएका सुधन र नुवाकोट घर भइ नयाँ बानेश्वरमा बस्दै आएकी पुष्पाबीच विवाह गर्न टीकाटालो भएको थियो।

तर गत मंसिर १७ गते सुधनको परिवारले एकतर्फी इन्गेजमेन्ट तोडेका थिए। त्यसको भोलिपल्ट साँझ पुष्पाले धुम्बाराहीस्थित सुधनको घर अगाडि पेट्रोल खन्याएर आत्मदाह गरेकी थिइन्।

प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो। त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो। तर मंसिर १९ गते बिहान पुष्पाको मृत्यु भयो।

उनीहरु दुवैजना केही समयदेखि प्रेम सम्बन्धमा थिए। पुष्पा र सुधनबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो। तर सम्बन्धमा समस्या आएपछि सुधनको परिवारले इन्गेजमेन्ट रद्द गरेका थिए। 

परिवारकै सहमतिमा इन्गेजमेन्ट रद्द गरिए पनि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेकी थिइन्। 
पुष्पाका परिवारले सुधनसहित उनको परिवारका ४ जनाविरुद्ध किटानी जाहेर दिएका थिए। त्यसलगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। 

तर अदालतले सुधनविरुद्ध मात्रै म्याद लिएको थियो। जिल्ला अदालतले पनि उनलाई मात्रै पुर्पक्षका लागि जेल चलानको आदेश बिहीबार दिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad