दिनप्रतिदिन चिसो बढ्ने क्रम जारी छ। यस क्रममा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्रीबाट पनि तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले दिएको जानकारीअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको छ। यो ५ः४५ बजे गरिएको मापन हो। अहिले बिहान ८:४५ बजे यो अपडेट गरिनेछ भने त्यसबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ।
महाशाखाले तापक्रम क्रमिक रूपमा घट्दै गएको भन्दै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ : देशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
महाशाखाका अनुसार अहिले (आइतबार बिहान) गण्डकी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
बुलेटिनअनुसार राति सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
Shares

प्रतिक्रिया