ad ad

समाज


भाषणमा कर्णालीलाई लुम्बिनी लेखिँदा राष्ट्रपतिले माफी माग्नुपर्यो (भिडिओसहित)

भाषणमा कर्णालीलाई लुम्बिनी लेखिँदा राष्ट्रपतिले माफी माग्नुपर्यो (भिडिओसहित)

पत्रकार महासंघको साधारणसभामा राष्ट्रपति भण्डारी। तस्बिर : नेपालखबर


नेपालखबर
पुस ८, २०७९ शुक्रबार १५:३४, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगरमा दुईवटा कार्यक्रममा सहभागी हुन पुगिन्। 

पहिलो थियो, वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन उद्घाटन र दोस्रो थियो नेपाल पत्रकार महासंघको साधारण सभा उद्घाटन कार्यक्रम।

तर राष्ट्रपति भण्डारीले पत्रकार महासंघको साधारणसभालाई सम्बोधका क्रममा राष्ट्रपतिको कार्यालयका कर्मचारी र सल्लाहकारका कारण लज्जित हुनुपरेको छ।

पत्रकार महासंघको साधारणसभामा राष्ट्रपतिसँगै उपस्थित थिए नेकपा एमालेका महासचिव शंकर पोखरेल र कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पनि। 

राष्ट्रपति सबै औपचारिक कार्यक्रममा लिखित भाषण पढ्छिन्। उक्त भाषण राष्ट्रपतिको कार्यालयले नै तयार गर्छ। उनी सहभागी हुने कार्यक्रम शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा थियो।

राष्ट्रपतिले साधारणसभा उद्घाटनसँगै त्यहाँ उपस्थित पत्रकारहरुलाई सम्बोधन गर्ने कार्यक्रम थियो। उनले पोडियममा आएर पत्रकारहरुलाई सम्बोधन गर्न लिखित भाषण पढ्न थालिन्। 

'लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू....', उनले यति भनेपछि दर्शकदीर्घाबाट आवाज आयो, 'लुम्बिनी होइन कर्णाली...'

त्यसपछि त्यहाँ राष्ट्रपति भण्डारी केही असहज देखिइन्। अनि भनिन्, 'यहाँ त लुम्बिनी नै लेखेको छ त...सरी है जे लेखेको त्यही पढ्ने बानी भयो, त्यही भएर मैले यहीँ पढेँ', उनले यति भनेर त्यहाँको अवस्थालाई उनले सम्हालिन्। 

यसलाई लिएर सुर्खेतस्थित एकजना पत्रकार सुशील खड्काले तत्कालै भिडिओसहित सामाजिक सञ्जालमा टिप्पणी लेखेका छन्। 

'भनेपछि राष्ट्रपतिको कार्यालयले त कर्णालीलाई लुम्बिनी देख्ने रहेछ', उनले भनेका छन्, 'अनि कसरी कर्णाली दौडियोस् त कठै!' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .