ad ad

समाज


निहिता विश्वास भन्छिन् : शोभराजलाई यहीँ राखिरहे फेरि फसाउँछन्, जेल हाल्छन्

पर्सनल लाइफबारे चासो नराख्न आग्रह, तत्काल फ्रान्स नजाने
निहिता विश्वास भन्छिन् : शोभराजलाई यहीँ राखिरहे फेरि फसाउँछन्, जेल हाल्छन्

अध्यागमन विभागमा निहिता विश्वास। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस ८, २०७९ शुक्रबार १३:१५, काठमाडौँ

अमेरिकीसहितका नागरिकको हत्या अभियोगमा १९ वर्ष लामो जेल सजाय काटेपछि ७७ वर्षीय फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन्। 

कारागारबाट रिहा भएलगत्तै उनलाई कालिकास्थानस्थित अध्यागमन विभागमा लगेर बुझाइएको छ। अब त्यहाँबाट उनलाई सकेसम्म शुक्रबार रातिसम्म फ्रान्सका लागि डिपोर्ट गर्ने तयारी भएको छ।

शोभराजलाई अध्यागमन पुर्‍याएसँगै १२ वर्षअघि शोभराजकी प्रेमिकाका रुपमा चर्चामा आएकी निहिता विश्वास र उनकी आमा शकुन्तला थापा पनि पुगेका छन्। 

सुन्धारा जेलमै शोभराजसँग बिहे गरेकी निहिताले उनलाई रातिसम्म फ्रान्स पठाइने जानकारी दिएकी छन्। 

'हाम्रो चाहना शोभराजलाई सुरक्षा राम्रो बनाएर रिहा गर्नु थियो। तर अहिले पनि हामीले सुरक्षाको महसुस गरेनौँ', उनले भनिन्, 'हामी आज नै उनलाई फ्रान्स फर्काउन खोजिरहेका छौँ। नेपालमै राखिरह्यो भने अझै जे पनि हुने डर हामीलाई छ। उनलाई अर्को मुद्दा लगाएर फसाउने डर छ।'

चार्ल्स शोभराजलाई लगिएको अध्यागमन विभाग। तस्बिर : सरोज बैजु/नेपालखबर

निहिताले शोभराजलाई हुँदै नभएको मुद्दामा अफवाहको पछि लागेर थुन्ने काम भएको बताइन्। 'यस पटक हामी चाँडै पठाउँछौँ। हामी सुरक्षाका लागि उनलाई फ्रान्स पठाउँदैछौँ', उनले भनिन्, 'मैले पनि असुरक्षा महसुस गर्नुपर्यो। हामीले अदालतमा भेटिरहेका छौँ। जेल भिजिटमा अफ्ठ्यारो पार्छन्। मलाई पनि अट्याक गर्छन् भन्ने भयो। त्यहीकारण म कानुनी रुपमै अघि सरेँ, उसको कानुन व्यवसायीका रुपमा मैले लडेँ।'

उनले एउटा मान्छेका लागि नेपालको सारा राज्यशक्ति लागेको पनि बताइन्। 'एउटै मान्छेको पछि लागेर यति धेरै इनर्जी लस भयो। अरु केसमा पनि कानुनी बदनियत भएको। कैदी मिनाहाका नाममा ठूला अपराधीका लागि अध्यादेश ल्याउने काम भयो। चार्ल्स शोभराज जस्ता पीडित अरु पनि छन्', उनले भनिन्, 'अब उसको सुरक्षा हो पहिलो कुरा। उसलाई पठाउन पाए ढुक्क हुन्छ। राम्रोसँग सुरक्षा दिएर पठाउँछौँ।'

उनले शोभराज र आफ्नो सम्बन्धबारे प्रश्न नगर्न आग्रह गरिन्। 'उसको र मेरो सम्बन्ध भनेको पर्सनल लाइफ हो। त्यसबारे तपाईंहरुले नसोध्नु होला। पेरिस जाने कुरामा मलाई हतार छैन। मेरो केही कानुनी जिम्मेवारी पनि छ। त्यतिकै जान मिल्दैन', उनले भनिन्, '१२ वर्षअघि जेलमा भएको बिहेको मान्छेलाई चासो छ। चासोले कुनै उपलब्धी दिँदैन। म चाहिँ उसको कानुन व्यवसायी भएकाले अहिले उसलाई जोगाउन लागेको छु।'

निजी जीवनबारे पहिले पनि बोल्दा धेरै अफवाह फैल्याइएको उनले बताइन्। 'मैले पहिले बोल्नु हुँदैनथ्यो। तपाईंहरुले पातको पतंगर बनाइदिनु भयो', उनले भनिन्, 'अहिले पर्सनल लाइफबारे तपाईंहरुले चासो नलिएकै राम्रो!'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .