सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार भएको दुर्घटनामा उदयपुर चौडण्डीगढी-५ का ५० वर्षीय चेतबहादुर विष्टको मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना ७ख ३५५३ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स १ च ४९६ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको उनले बताए। साथै एम्बुलेन्स चालकसहित चार जना घाइते भएका छन्।
तीमध्ये तीन जनाको विराटनगरस्थित नोबेल अस्पतालमा र एम्बुलेन्स चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया