काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बलको कार्यदलमा खाना पकाउने क्रममा प्रेसरकुकर पडकिँदा एकजना बालकसहित तीनजना घाइते भएका छन्।
शनिबार साँझ कार्यदलको क्यान्टिनमा खाना पकाउने क्रममा प्रेसरकुकर पड्किँदा २ जना सशस्त्र प्रहरी र एक जना बालक घाइते भएका हुन्।
प्रहरीका अनुसार घाइतेहरूमा सुर्खेत कञ्चनपुरी नगरपालिका ८ घर भई हाल सशस्त्र प्रहरी कार्यदलभित्र बस्ने वर्ष ११ का आयुस बुढा, प्युठान सरुमैरानि गाउपालिका ५ घर भई हाल सशस्त्र प्रहरी कार्यदलमा कार्यरत वर्ष १९ का सशस्त्र प्रहरी जवान हिरासिंह बराल र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ३ घर भई हाल सशस्त्र प्रहरी कार्यदलमा कार्यरत सशस्त्र प्रहरी जवान यमनाथ गिरी छन्। बालक आयुस सोही कार्यदलमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक राजकुमार बुढाका छोरा हुन्।
प्रहरीका अनुसार घाइतेहरूको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको शरीरका विभिन्न भागमा जलेको छ तर अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया