ad ad

समाज


सेनाको इतिहासमा नयाँ रेकर्ड, नेपालबाट एकसाथ ६ हजार १६ जना राष्ट्रसंघीय मिसनमा

सेनाको इतिहासमा नयाँ रेकर्ड, नेपालबाट एकसाथ ६ हजार १६ जना राष्ट्रसंघीय मिसनमा

नेपालखबर
पुस १, २०७९ शुक्रबार १८:४४, काठमाडौँ

अहिलेसम्मकै सबैभन्दा धेरै नेपाली सेनाको टोली संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सेनाको इतिहासमै पहिलो पटक ६ हजारभन्दा बढी नेपाली सेनाका जवानहरु शान्ति मिशनमा तैनाथ भएका हुन्। यसलाई नेपाली सेनाले एक कोषे ढुंगा भनेको छ।

सेनाका अनुसार सेन्ट्र अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनाका लागि मंसिर २७ गते लाइ इनफेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका २०२ जना शान्ति सैनिकहरुको तैनाथीसँगै मिशनमा एकै पटक तैनात सेनाको संख्या ६ हजार १६ पुगेको हो। 

सन् १९५५ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो। राष्ट्र संघको आव्हानमा सन् १९५८ मा ५ जना सैनिक पर्येवेक्षक शान्ति मिसनका लागि पहिलो पटक लेवनन पुगेका थिए। 

त्यसयता नेपाली सेनाको शान्ति मिशनको यात्राले ६ दशक भन्दा बढीको समय पार गरेको छ। सन् १९७४ मा युनिफ मिशन सिनाइ (इजिप्ट) मा पहिलो नेपाली सैनिक कन्टिजेन्टको रुपमा श्री पुरानो गोरख गण सहभागी भएको थियो।

हालसम्म नेपाली सेनाले ४४ वटा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरुमा सहभागिता जनाइसकेको छ। यस क्रममा नेपाली सेनाका १ लाख ४२ हजार ५८५ जना जवान र अधिकृतहरु शान्ति मिशनमा सहभागी भइसकेका छन्।

जसमा १९ सय ८२ जना महिला सैनिकसमेत छन्। विश्व शान्ति स्थापनाको यस अभियानका क्रममा हालसम्म ७१ जना नेपाली सेनाका शान्ति सैनिकहरुले ज्यान गुमाएका छन्। त्यस्तै ६८ जना घाइते भएका निर्देशनालयले जनाएको छ। 

हाल संयुक्त राष्ट्र संघमा फौज योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा । अहिलेको अवस्थामा विभिन्न १२ वटा शान्ति मिशनमा नेपाली सेनाका ६ हजार १६ जना जवान र अधिकृतहरु तैनाथ छन्। जसमा ४ सय २९ महिला पनि छन्। 

यसैगरी राष्ट्रसंघीय शान्ति मिशनहरुमध्ये युएनडोफ मिशन सिरियामा फोर्स कमान्डर, युनिफिल मिशन लेवनानमा डेपुटी फोर्स कमान्डर, मिनुस्मा मिशन माली र युएनमिस मिशन दक्षिण सुडानमा सेक्टर कमान्डरका रुपमा नेपाली सेनाका रथीहरु कार्यरत छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .