समाज


डबली सभ्यतालाई पुनःजागरण गर्ने बालेन्द्रको योजना

डबली सभ्यतालाई पुनःजागरण गर्ने बालेन्द्रको योजना

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १५:४५, काठमाडौँ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने बताएका छन्। 

बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनःजागरण गर्न लागेको बताएका हुन्। 

उनले उपत्यका भित्र रहेका डबलीहरुलाई जनचेतनामुलक कार्यक्रमहरु गर्न प्रयोग गरिने बताए। उनले काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरुलाई पुनःजागृत गराउनुपर्नेमा जोड दिए। प्रमुख शाहले संस्कृतिहरुलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्दै जानुपर्ने बताए। उनले मौलिक बाजाहरुलाई अभिलेखिकरण गर्दै नयाँ पुस्ताहरुलाई पनि सिकाउँदै जानुपर्ने बताए। 

उनले भने – ‘काठमाडौं महानगरपालिकाले यो सात दिन सप्ताहव्यापी काठमाडौं महानगरपालिकाको उत्सव मनाउँदै गर्दाखेरी विभिन्न कुराहरुलाई एउटा सिम्बोलको रुपमा देखाउन चाहेको छ। उदाहरणको रुपमा हामीले हाम्रो डबली सभ्यतालाई पुनःजागरण गर्नुपर्छ भन्ने कुरा अस्ति पशुपतिमा गर्दै जाँदाखेरी, उपत्यकाभरी र काठमाडौं महानगरपालिकाभरी विभिन्न स्थानहरुमा डबलीहरु रहेका छन्। जसको प्रयोजन सांगितिक कार्यक्रमदेखि लिएर नाटक मञ्चन सबैका लागि हुने गर्दथ्यो। त्यसलाई फेरि पुनःस्थापना गर्न सकिन्छ। ठूलो ठूलो इभेन्ट गर्नका लागि हामीलाई ठूलो मञ्चहरु प्रयोग गर्दै आएका छौँ। तर सानो सानो हाम्रो जनचेतनामुलक, रमाइलोका लागि गरिने जुन पुरानो सभ्यतामा रहेको चिजलाई पुनःजागरण गर्नुपर्छ भन्ने कुराहरु हामीले ग¥यौँ। महशुस यात्रा गर्यौँ।’ 

उनले हाम्रा मौलिक संस्कृति कसरी संरक्षण गर्ने र नयाँ पुस्तालाई कसरी सिकाउने भन्ने चुनौती रहेको बताए।

उनले भने, ‘हामीले के महशुस गर्नुपर्ने छ भने हाम्रो सभ्यता, सम्पदा, पुरानो मौलिक आर्किटेक्चर थियो काठमाडौं महानगरपालिकाको र उपत्यकाको। त्यसलाई पुनःजागरण कसरी गर्ने? हाम्रो संस्कृतिहरुलाई कसरी पुनःजागरण गर्ने ? कसरी जोगाइराख्ने? कसरी पुस्तान्तरण गर्ने? हाम्रो नयाँ पुस्ताहरुलाई हाम्रो संस्कृति कसरी सिकाउँदै जाने? हाम्रो पुरानो बाजाहरुलाई कसरी अभिलेखिकरण गरेर त्यसलाई प्रदर्शनको रुपमा, प्रतिष्पर्धाको रुपमा, प्रतियोगिताको रुपमा हामीले हाम्रो नयाँ पुस्ताहरुलाई कसरी सिकाउँदै जाने भन्ने कुराहरु पनि राख्यौँ।’

प्रमुख शाहले काठमाडौं महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न शुरु गरिएको बताए। उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा छिमेकी पालिकाहरु र सबै तहको सरकारहरुसँग सहकार्य गर्दै अगाडि बढेको बताए। उनले काठमाडौं महानगरलाई सांस्कृतिक शहर बनाउने सपना पूरा गरेरै छोड्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad