३१ औँ अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १३ दिने अभियान संसारभर चलिरहेको छ। नेपालमा पनि अभियान अन्तर्गत विभिन्न कार्यक्रम भैरहेका छन्। तर बिनु यादव भने न्याय माग्दै न्यायालय धाइरहेकी छिन्।
मंगलबार बिनु न्याय माग्दै सर्वोच्च अदालतको गेटमा पुगिन। गेटमा रातो रंग फ्याक्दै न्यायालयको विरोध गरिन्। बिनुले आफूमाथि श्रीमानले हिंसा गरेको भन्दै न्याय माग्न थालेको लामो समय भैसक्दा पनि न्याय नपाएको बताएकी छन्।
सेतो सारीमा सर्वोच्च अगाडि पुगेकी बिनुले न्यायलयप्रति आक्रोश पोखिन्। फालिएको रातो रंगले पीडितको न्यायलय प्रति हराएको विश्वास र बलात्कार हुँदा उनको बगेको रगतको हो संकेत गरेको छ।
रंग फालेर बिनुले ‘मलाई न्याय चाहियो’ भन्दै चिच्याइन्। त्यसलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनी हुन् सिराहाकी बिनु यादव। उनले श्रीमानले आफूमाथि हिंसा गरेको आरोप लगाउँदै आएकी छन्। उनको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ। न्यायका लागि भन्दै उनी सडक संघर्षमा उत्रिन थालेकी छन्।
बिनुले केही महिनाअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्याको प्रयास समेत गरेकी थिइन्। उनले पतिसहित घरपरिवारले शारीरिक र मानसिक रुपमा हिंसा गरेको बताउँदै आएकी छिन्।
Shares

प्रतिक्रिया