संसदमा विचाराधिन विज्ञापन विधेयकमा क्लिन फिडको व्यवस्था गरेको विषयलाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिएको छ।
‘सरकारको आमसञ्चार नीति र पत्रकार महासंघले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरुमा क्लिन फिड व्यवस्था लागु गर्ने विषय उच्च प्राथामिकतामा रहँदै आएको थियो। क्लिन फिडले नेपाली सञ्चार माध्यमहरुको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्छ भन्ने महासंघको विश्वास छ।’ महासंघले मंगलबार विज्ञप्ति जारी गरी भनेको छ, ‘विज्ञापन विधेयकमा क्लिन फिड व्यवस्था गरी लागु गर्ने दृढता प्रर्दशन गरेकोमा महासंघ सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ।’
महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने भन्दै उक्त विधेयक फिर्ता लिई सरोकारवालाहरुसंग छलफल गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री विधेयक ल्याउन पुनः माग गरेको छ।
ति विधेयक विरुद्धको आन्दोलन जारी रहेको पनि महासंघले जनाएको छ। सो सन्दर्भमा जेठ ११ गते बुधबार तेस्रो चरणको आन्दोलन अन्तर्गत अपरान्ह ३ बजे बसन्तपुरमा चर्चित कविहरुको कविता वाचन र ख्यातिप्राप्त काटुर्निष्टहरुको कार्टुन चित्र प्रर्दशनी आयोजना हुँदैछ।
Shares

प्रतिक्रिया