कर्णाली प्रदेशका १० जिल्लाका कतिपय बिरामीहरु सुर्खेत तथा काठमाडौंमा हेलिकोप्टर चार्टड गरी उपचार गर्न आउने गर्छन्। छोटो दुरीमा रहेको जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार नगराई सुर्खेत र काठमाडौं जाँदा हेलिकोप्टर चाटर्डमा राज्यकोषको ठूलो रकम दुरुपयोग भईरहेको छ।
कर्णाली प्रदेशको १० वटै जिल्लालाई स्वास्थ्य सेवा पुर्याउने लक्ष्य सहित जुम्लामा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ सय सैया छन्। प्रतिष्ठानले सबै जिल्लाका बिरामीलाई उपचार गर्न सक्ने क्षमता पनि राख्दछ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हेर्दा कुनै विकसित शहरको मेडिकल अस्पताल भन्दा कम लाग्दैन। तीन बेडको सघन उपचार कक्ष (आइसीयु) पनि सञ्चालनमा छ। मेडिकल कलेजको रुपमा विकास गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हरेक किसिमका जटिल रोगहरुको पनि उपचार समभव छ।
तर छोटो दुरीको प्रतिष्ठानमा उपचार नगराई त्यस क्षेत्रका विरामीलाई सुर्खेत र काठमाडौं लैजाने गरिएको र सो क्रममा राज्यकोषको ढुकुटी दुरुपयोग भएको दाबी जिल्ला समन्वय समितिको छ। संघीय संसद प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रविधि समितिको अनुगमन टोलीसँगको अन्तरक्रियामा जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले हेलिकोप्टर चार्टड गर्दा राज्यको लाखौं रुपैयाँ दुरुपयोग भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराए। नजिकै सुविधा सम्पन्न अस्पताल हुँदाहुँदै उपचारको नाममा भएको रकमको दुरुपयोग रोक्ने प्रयास नगरी राज्यले आफ्नो निरीहता देखाएको आरोप उपप्रमुख बुढाको छ।
डोल्पा, हुम्ला लगायतका स्थानबाट आधा घण्टामा प्रतिष्ठानमा हेलिकोप्टरबाट पुग्न सक्ने भएपनि त्यस क्षेत्रका बिरामीलाई सुर्खेत तथा काठमाडौं ल्याईने गरिएको छ। त्यसो गर्दा लामो दुरीका कारण कतिपय विरामीको बाटो मा नै मृत्यु हुने गरेको छ। प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन कुमार रोकायले २० जना मेडिकल अफिसर र विशेषज्ञ चिकित्सकहरु सहित २८ जनाले सेवा दिईरहेको बताए।
दुर्गम हिमाली जिल्ला भएकाले प्रतिष्ठानमा विद्युतको समस्या सबैभन्दा बढी छ। विद्युत कै कारण विभिन्न मेडिकल उपकरणहरु सञ्चालनमा समस्या रहेको डा. रोकायले बताए। उनले हिउँदमा हिउँ पर्ने र वर्षादको समयमा बाटो अवरुद्ध हुने हुुँदा औषधिको अभाव हुन गई विरामीको उपचारमा कठिनाई हुने गरेको समेत बताए। तर पनि चिकित्सकहरुको सावधानी र विज्ञताले जटिल रोगहरुको उपचार तथा सल्यक्रिया पनि भईरहेको उनले बताए।
दुर्गम क्षेत्र भएकाले प्रतिष्ठानमा विद्युत् आपूर्ति, औषधी, रगत तथा रगतजन्य सामग्रीहरुको अभाव हुँदा बिरामीको उपचारमा बेला बेलामा समस्या देखिने गरेको छ। यस्ता समस्यालाई सम्बोधन गर्दै उपचार सम्भव भएर पनि ठूलो रकम खर्चेर टाढाको अस्पताल लैजाने प्रवृत्तिको अन्त्य गर्ने तर्फ सरकारले समयमै सोच्नुपर्ने देखिन्छ। अन्यथा प्रतिष्ठान र उपचारको नाममा हेलिकोप्टर चाटर्डमा राज्यकोषबाट हुने दोहोरो खर्च रोकिने देखिँदैन।

प्रतिक्रिया