चुनावको मौका छोपेर सिमावर्ती क्षेत्रमा नेपाली जाली नोट (नक्कली नोट) को कारोबार गर्ने गिरोह सक्रिय भएको छ।
निर्वाचनका बेला आर्थिक कारोबार उच्च हुने र यही मौकामा जाली नोटको कारोबार गर्न सकिने योजनाका साथ जाली नोट कारोबारी सक्रिय रहेको प्रशासनले जनाएको छ।
सुनसरी र मोरङका सिमावर्ती बजारहरूमा ५ सय र एक हजार दरका जाली नोटहरु फेला परिरहेका छन्।
विराटनगर र सुनसरीको सिमावर्ती बजारहरुमा यस्ता नोट भेटिएको प्रहरीले जनाएको छ।
जाली नोटको कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीको देवानगञ्ज गाँउपालिकालबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
उनीहरुको साथबाट ६ थान एक हजार रुपैयाँ दरको जाली नोट बरामद भएपछि प्रहरीले मुद्दा चलाएको छ। विराटनगरमा भने ५ सय दरको जाली नोट फेला परेको हो।
६ वटा एक हजार दरका जाली नोटसहित देवानगञ्ज २ का रविन्द्र कुमार मेहता, श्यामदेव मेहता र एक जना नावालकलाई प्रहरीले पक्राउ गरेको थियो।
असोजको अन्तिम साता पक्राउ परेका मध्ये श्यामदेव मेहतालाई पूर्पक्षको लागि जेल चलान गरिएको छ।
रविन्द्रलाई अदालतले २ लाख रुपैयाँ धरौटी माग गरेको भएपनि धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका छन्।
एक जना नावालकलाई भने आफन्तको जिम्मा लगाएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभु ढकालले बताए।
देवानगञ्ज गाँउपालिकामा लागेको मेलामा चटपटे किन्न आएका एक जना नावालकले एक हजारको जाली नोट चटपटे व्यापारीलाई दिएका थिए।
उनलाई शंका लागेर सोधी गर्दा रविन्द्रले सो पैसा दिएको ती बालकले बताएपछि रविन्द्रलाई प्रहरीले पक्राउ गरेको ढकालले बताए।
रविन्द्रले श्यामदेव मेहताले आफूलाई सो जाली नोट दिएको बताएपछि श्यामलाई पनि प्रहरीले पक्राउ गरेको थियो।
मेहता स्थानीय व्यपारी हुन्। मेहताले जाली नोट कहाँबाट आएको हो भनेर अहिलेसम्म नबताएकाले अनुसन्धान भइरहेको ढकालले बताए।
यस्तै ५ दिनअघि विराटनगरस्थित पोखरीको एक होलसेल किराना पसलमा ५ सयको जाली नोट फेला परेको छ।
पसल सञ्चालकलाई किराना पसल सञ्चालकले सामान किन्दा सो जाली नोट दिएका थिए। सो जाली नोट कहाँबाट आयो भन्ने बारेमा अहिलेसम्म पत्ता लागेको छैन।
चुनावमा अझै ‘थ्रेट’
निर्वाचनका बेला जाली नोटको कारोबार हुने थ्रेट अझै रहेको सुनसरी प्रशासनले जनाएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाएचनका बेला जाली नोटको कारोबार गर्ने गिरोह सक्रिय हुने बताए।
उनले निर्वाचन थ्रेटकै रुपमा जाली नोटको कारोबारलाई हेरिएको बताए। उनले भने, ‘हामीले जाली नोट कारोबारलाई पनि थ्रेटको रुपमा हेरेका छौँ। भारतीय सुरक्षाकर्मीसँग पनि हामीले यसलाई रोक्नका लागि सहकार्य शुरु गरेका छौँ।’
प्रतिक्रिया