ad ad

समाज


गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर

गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १२:३१, ढोरपाटन (बागलुङ)

ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरू पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन्। एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन्। कलात्मक शैलीका झ्याल तथा ढोका भएका र 
मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन्।

पछिल्लो समय आधुनिकता हावी हुँदा यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयहरूको बुझाइ छ। मगर र गुरुङ समुदायको पहिचानसँग जोडिएका यस्ता घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएको निसीखोला गाउँपालिका - १ का थिर्तराम गुरुङको भनाइ छ। उनले परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा पारेको बताउँछन्।

“१२/१५ वर्ष अघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घरहरू भेटिन्थे, अहिले १/२ वटा पनि भेट्टाउन मुस्किल पर्छ, घुमाउने घर बनाउन सोही किसिमको सीप चाहिन्छ”, उनले भने, “तर अहिले सिमेन्ट, गिट्टी र बालुवा बनाउन सजिलो हुन थाल्यो।”

गुरुङ घुमाउने घर निर्माण गर्ने मिस्त्रीहरूको सीप पुस्तान्तरण नहुँदा लोप हुँदै गएको बताउँछन्। 

त्यस्तै, स्थानीय पूर्णबहादुर घर्ती मगरले भने, “घुमाउने घर मगर र गुरुङको पहिचानसँग जोडिएको छ, तर हामी नै यसको संरक्षण गर्न सकेका छैनौँ, आगामी दिनमा यसको संरक्षणमा काम गर्ने को नै होला र?”

निसीखोला गाउँपालिका - ६ का नरसिंह बुढामगर घुमाउने घरको संरक्षण गर्न सक्ने हो भने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउँछन्। यस्ता घरहरूलाई नयाँ ढंगले संरक्षण र मर्मत गरी सञ्चालन गर्न पनि सकिने उनको भनाइ छ। गाउँ ठाउँमा भएका घुमाउने घरको तथ्याङ्क संकलन गर्ने र पुनःनिर्माण गरि संग्राहलयका रूपमा विकास गर्न सकिने उनको सुझाव छ।

घुमाउने घर आधुनिक घरभन्दा न्यानो हुने हुँदा गुरुङ र मगरहरू यस्ता घर बनाउनमा बढी केन्द्रित हुने गरेको उनको भनाइ छ। उच्च पहाडी क्षेत्रमा जनजाति समूदायको बसोबास बढी हुने र त्यस्ता स्थानहरूमा बढी जाडो हुने हुँदा न्यानोका लागि घुमाउने घर बनाउने गरेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .