वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको मृत्यु भएको छ। ६ वर्षदेखि पोर्चुगलमा बसिरहेका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो।
सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा उनको मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले राससलाई जानकारी दिए। सँगै सुतेका साथीले बिहान काममा जाने बेला उठाउन जाँदा नउठेपछि आफूलाई खबर आएको र तत्काल दाजुको कोठामा पूग्दा दाजु मृत अवस्थामा भेटिएको उनले बताए। मृतक सिन्धौली पेगोईसस्थित एक कृषि कम्पनीमा काम गर्थे।
सिन्धौलीको वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन्। उनको शव बराइरो अस्पतालको शव गृहमा राखिएको छ। परिवारको आग्रहमा सिन्धौलीको शव नेपाल पठाउने तयारी भइरहेको र सो प्रक्रियाका लागि आर्थिक सङ्कलन सुरु गरिएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया