ad ad

समाज


नवमीदेखि द्वादशीसम्म व्यापक वर्षाको सम्भावना (विशेष मनसुन बुलेटिनसहित)

नवमीदेखि द्वादशीसम्म व्यापक वर्षाको सम्भावना (विशेष मनसुन बुलेटिनसहित)

फाइल फाेटाे


नेपालखबर
असोज १४, २०७९ शुक्रबार १७:३९, काठमाडौँ

यसपालि दसैँमा वर्षाले दुःख दिने देखिएको छ। मौसमविद्का अनुसार नवमीदेखि द्वादशीसम्म नेपालमा पानी पार्ने प्रणाली मनसुन सक्रिय हुने सम्भावना बढेको हो।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार अपराह्न ४ बजे ‘दसैँका लागि विशेष मनसुन बुलेटिन–७’ जारी गरी दसैंको अवधिमा देशभर वर्षा हुने प्रक्षेपण गरेको हो। कतिपय प्रदेशमा निकै ठूलो वर्षा हुने सम्भावना पनि देखिएको छ। 

बुलेटिनअनुसार बंगालको खाडीमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा असोज १८ गते (नवमी) देखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने देखिएको हो। जसले गर्दा नवमीबाट वर्षाको मात्रा बढ्दै द्वादशी (असोज २१) सम्मै देशभर पानी पर्ने सम्भावना देखिएको हो। 

यस्तो छ मौसम पूर्वानुमान महाशाखाले गरेको वर्षा अनुमान 
मंगलबार (नवमी)
: देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

बुधबार (विजया दशमी) : देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

बिहीबार (एकादशी) : देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। 

शुक्रबार (द्वादशी) : देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।

महाशाखाले भनेको छ : तसर्थ यी दिनहरूमा देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए तापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .