हिन्दु धर्माबलम्बीहरुको मुख्य पर्व दशैँ आजबाट शुरु भएको छ। दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित शक्ति पीठहरुहरुमा घटस्थापना गरिएको छ।
जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छ।
कोरोना संक्रमणको त्रासका कारण पछिल्ला वर्षहरुमा मन्दिर पुग्न छाडेका भक्तजनहरुको घुइचो यसपटक दशैँको पहिलो दिनदेखि नै बढेको छ।
राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरु पूजा अराधनाका लागि पुगेका छन्।
यता जनकपुरधामको राजदेवी मन्दिरमा नवरात्री पूजाका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई दुलही झै सिँगारीएको छ।
प्रत्येक वर्ष दशैँमा हजारौँको संख्यामा भीड हुने राजदेवी मन्दिरमा सजावटको काम पूरा भएको महाविर युवा कमिटीका अध्यक्ष बलराम साहले बताए।
राजदेवी मन्दिरको सजावटदेखि पूजा र व्यस्थापनका लागि यस वर्ष २० देखि २५ लाख खर्च हुने अनुमान महावीर युवा कमिटीका अध्यक्ष साहले लगाए।
दशैँमा महावीर युवा कमिटीको मुख्य अर्थ आर्जनको श्रोत बोका बलि रहँदै आएको छ।
राजदेवी मन्दिरमा अष्टमीको एक रातमा मात्रै १४ हजारभन्दा बढी बोका बलि हुँदै आएको छ।
‘बलिप्रदान हुँदा त्यसबाट आउने पैसा र चन्दाबाट पूजा खर्चको व्यवस्थापन गर्ने गरेका छौँ,’ उनले भने।
१० दिनको पूजा व्यवस्थापनका साथै श्रद्धालुहरुको भीड व्यवस्थापनका लागि २ हजार बढी स्वयंसेवक परिचालन गरिने महावीर युवा कमिटीका अध्यक्ष साहले बताए।
राम युवा कमिटीले बौधीमाता मन्दिर, अमरखाना मन्दिर र अन्नपूर्णा माता मन्दिरको पूजा व्यवस्थापन गर्दै आइरहेको छ।
दशैँमा यी मन्दिरहरुमा घटस्थापनादेखि विजयदशमीसम्मका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको राम युवा कमिटीका अध्यक्ष परमेश्वर साहले जानकारी दिए।
जनकपुरधामको राजदेवी मन्दिरमा प्रत्येक वर्ष नवरात्रीमा हजारौँको भीड हुन्छ। दर्शनार्थी व्यवस्थापन गर्न समेत कठिनाई हुन्छ।
प्रत्येक वर्ष राजदेवी मन्दिरमा सप्तमीदेखि अष्टमी दिनसम्म प्रसाद चढाउनेहरुको घुइँचो हुन्छ।
राजदेवी माताको शारदीय नवरात्री अन्तर्गत घटस्थापनादेखि नवमीसम्म विशेष विधि विधान पूर्वक गर्ने गरिएको राजदेवी मन्दिरका पूरोहित गणेश झाले बताए।
तान्त्रिक विधिअनुसार हुने राजदेवी माताको पूजाका लागि गणेश कलश, भैरव कलश तथा दुर्गा कलश स्थापना गरी घटस्थापना गरिएको उनले बताए।
Shares
प्रतिक्रिया