सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काम तीव्र हुने बताएका छन्।
बाराको गढिमाई पार्क, गढिमाई चोकदेखि रसौला, बस्डिल्वा, इनर्वासिया बजार, सानो माटियरिया चिनी मिल हुँदै मानवत मटिअर्वा हुलाकी राजमार्ग जोड्ने सडक खण्ड, टेलिकम चोक– विकासशिल चोक –रंगशाला चोक –एयर्ट पोर्ट दक्षिण सिमानासम्म जोड्ने सडक निर्माण लगायत ५० करोडका आयोजनाहरुको सहरी मन्त्री चौधरीले शुक्रबार शिलान्यास गरेका छन् ।
शिलान्यास पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बारा पछि पर्नुको कारण यहाँ असल नेता नभएको धारणा राखेका छन्।
‘जुन ठाउँका नेता असल, इमानदार र विकासप्रेमी हुन्छन् त्यहाँ तीव्र गतिमा विकास पुग्छ। तर जहाँ जनताको काममा ध्यान दिने भन्दा पनि गफ ठूला गर्ने नेता हुन्छन्, जहाँ जनतालाई हेप्ने, थर्काउने नेता हुन्छन्, त्यहाँ विकास हुँदैन।’ मन्त्री चौधरीले भने।
चुनाव जितेपछि नेता पार्टी भन्दा माथि उठेर विकासका काममा लाग्नुपर्ने बताएका सहरी मन्त्री चौधरीले किसान श्रेष्ठ बारामा विकास गर्न र यो ठाउँलाई माथि उठाउन यहाँ आएको बताए।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका किसान श्रेष्ठले अब बारामा विकास र सम्वृद्धिको मुल फुट्ने दाबी गरे। बाराको विकासमा उनले जनताले चाहे जति बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक दिपिल शेखर श्रेष्ठले स्थानीय तह आत्मनिर्भर हुन जरुरी रहेको बताउँदै शिलान्यास भएका आयोजनाहरु समयमै सकिने बताए।
कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा, सुन्दर विक, एकबाल मियाँ, सीता गुरुङ, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी लगायत विभिन्न दलका प्रतिनिधिहरुले आआफ्ना मन्तव्य राखेका थिए।
Shares

प्रतिक्रिया