समाज


शनिबारसम्म वर्षाको सम्भावना

शनिबारसम्म वर्षाको सम्भावना

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार ६:३१, काठमाडौँ

अहिले (बिहीबार बिहान) देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले आज बिहान ६:२० बजे दिएको जानकारीअनुसार मधेस प्रदेशको पश्चिमी क्षेत्र तथा बागमती प्रदेशदेखि पश्चिमका प्रदेशमा हल्का वर्षा भइरहेको हो। 

‘शनिबारसम्म बदली र वर्षा हुने देखिएको छ’, मौसमविद् मानन्धरले भनिन्।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ। 

‘बादल उत्तर सर्ने क्रममा छ’, मौसमविद् मानन्धरले भनिन्, ‘काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना देखिएको छ।’

मौसम पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार आज राति पनि देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ : देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना र सोको कारणले पहाडी तथा भिरालो जमिनमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .