ad ad

समाज


बोधगयामा दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट सुरु

बोधगयामा दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट सुरु

प्रकाश न्यौपाने
मंसिर २६, २०७६ बिहिबार १५:२२,

बौद्धस्थलहरुको प्रचारप्रसार र पबद्र्धन गर्ने उद्देश्यले भारत बिहार राज्यको बोधगयामा दोस्रोपटक अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट शुरु भएको छ। एशोसिएसन अफ बुद्धिष्ट साइट टूर अपरेटर (एबीटीओ) भारतको आयोजनामा मार्ट भएको हो।

मार्टको भारत सरकारका पर्यटन मन्त्रालयका सचिव विनोद जुत्सी उद्घाटन गरे। उनले विश्वमा बुद्ध दर्शनको प्रभाव दैन्दिन बढ्दै गएको बताउँदै बौद्ध सम्पदाबाटै पर्यटक क्षेत्रको विकास गर्न सकिने जनाए। ‘बुद्ध जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगयासहित दुवै देशका बौद्ध सम्पदालाई जोडेर प्रवद्र्धन गर्न जरुरी छ। यसले नेपाल भारत दुवै देशको पर्यटन विकासमा महत्पूर्ण भूमिका खेल्छ’, उनले भने।

अझै पनि बौद्ध सम्पदाहरु भएको ठाउँमा आवश्यक पूर्वाधार पुग्न नसकेको बताउँदै उनले त्यसतर्फ दुवै देशका सरकारहरुले ध्यान दिनुपर्ने जनाए।

सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई बोधगयामा पठाउने र बोधगयामा आउने पर्यटकलाई ल्म्बिनी पठाउन बुद्ध सर्किटका क्षेत्रलाई जोडेर नेपाल र भारतका पर्यटन व्यवसायीले पर्यटकीय प्याकेज तयार बनाउनुपर्नेमा जोड दिए। ‘हामीले जबसम्म बुद्ध सर्किटमा प्याकेज बनाउँदैनौं, तबसम्म पर्यटन व्यवसाय फस्टाउन सक्दैन’, उनले भने, ‘कनेक्टिभिटी बढाई सबै सम्पदा जोड्न जरुरी छ।’

बुद्ध जन्मस्थल लुम्बिनीसहित तिलौराकोट, रामग्राम, देवदह लगायत नेपालका अन्य बुद्धिष्ट क्षेत्रहरु र भारतका बोधगयासहित बिभिन्न बुद्धिष्ट क्षेत्रहरुको प्रबद्र्धन, बिकास प्रचारप्रसार गर्ने उद्देश्यले यसवर्ष पनि इन्टरनेशनल बुद्धिष्ट ट्राभल मार्टलाई निरन्तरता दिइएको आयोजक संस्था एबीटीओका अध्यक्ष जेपी शाहले बताए।

budda-sarkit2.jpg

अशोका मिसनका अध्यक्ष भिक्षु लोप्जाङले बुद्ध शिक्षा र दर्शनको जति प्रचार गर्नसक्यो पर्यटन क्षेत्रमा उत्तिकै फाइदा पुग्दै जाने जनाए। इन्डोनेसियाका दुतबिरा बौद्ध क्याम्पसका भाइस रेक्टर इफन्दी हन्सेनले बिश्वमा बुद्ध दर्शनको प्रभाव बढिरहेकाले उनीहरुलाई बुद्ध जीवनीसँग जोडिएका क्षेत्रमा आकर्षित गर्नुपर्नेमा जोड दिए। बुद्धिष्ट ट्राभल्स मार्टमा सिद्धार्थ होटल संघ नेपालसहित, भारत, थाइल्याण्ड, चीन, श्रीलंका, कम्बोडिया, भुटान, मलेशिया, म्यानमारलगायत १७ देशका पर्यटन ब्यबसायी (होटल तथा ट्राभल व्यवसायी) र सरोकारवाला सहभागी छन्।

बुद्धिस्ट मार्टमा नेपाल र भारतमा रहेका बुद्धिष्ट क्षेत्रहरु जोड्न र एक ठाउँ आएका पर्यटक अर्को ठाउँमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा समान धारणा बनाइने छ। सम्मेलनमा नेपालसहित भारतका विभिन्न ट्राभल्स एवं होटलहरुका २० वटा परिचयात्मक स्टलहरु राखिएका छन्। कार्यक्रममा सहभागी लुम्बिनी क्षेत्रका ब्यबसायीहरुले लुम्बिनी, भैरहवा, तिलोत्तमा क्षेत्रका होटलहरुमा रहेका सुबिधाहरु, त्यहाँका ब्यबसायीले प्रदान गर्ने आतिथ्यता लुम्बिनीको टुर प्याकेज, यातायात साधन तथा सेवा लगायतका बिषयमा बिजनेश टु बिजनेश (बि–टु–बि) र बिटुसी कार्यक्रम समेत गर्ने कार्यक्रम छ।

सम्मेलनमा नेपालबाट होटल संघका अध्यक्ष श्रेष्ठको नेतृत्वमा आएको टोलीमा लुम्बिनी, भैरहवा, तिलोत्तमा क्षेत्रका होटल ब्यबसायी, सोसाइटी अफ टुर एन्ड ट्राभल अर्गनाइजेशन सोट्टो नेपाल प्रदेश ५ मा आबद्ध पर्यटन ब्यबसायी र पत्रकार गरि ३३ जनाको टोली सहभागी छ। सम्मेलनले दुवै देशका पर्यटन व्यवसायीहरुको हितलाई मध्यनजर गर्दै समन्वय र सहकार्य बढाउन मद्दत पुग्ने सिद्धार्थ होटल संघ, नेपालका महासचिब रवीन्द्र शर्मा घिमिरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .