प्रहरीले फिरौती माग गरी नदिएको भन्दै इँट्टाभट्टामा विस्फोट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ। बारास्थित इलाका प्रहरी कार्यालय सिमराको टोलीले फिरौती माग्दै रकम असुल्ने गिरोहका चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बारा परवानीपुरका ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देवशंकर राम, जितपुर सिमराका २० वर्षीय अच्छेलाल गोसाई र फेटा गापा ३ का ३९ वर्षीय दिपेन्द्र कुमार धानुक रहेका छन्। उनीहरुमध्ये प्रमोद साहले बारा परवानीपुर ४ मा रहेको एमएस इँट्टाभट्टाका सञ्चालक मनोज प्रसाद साह तेलीलाई फोन गरी १५ लाख फिरौती दिन भनेकामा मनोजले नदिएपछि गत कात्तिक ४ गते इँट्टाभट्टामा विस्फोट गरेको प्रहरीले जनाएको छ।
इँट्टाभट्टा विस्फोटपछि उक्त गिरोहले मनोजलाई घरपरिवारलाई समेत खतरा हुने भन्दै ३ लाख लिएर बाराको चैनपुरमा ल्याउन भनेको थियो। सोही क्रममा मनोजले प्रहरीलाई खबर गरेपछि चार जना पक्राउ परेका हुन्।
प्रहरीका अनुसार प्रमोद साह गोढ यसअघि पनि ०७३ चैत २८ मा पर्सा वीरगञ्ज ८ बाट अवैध नलकटुवा बन्दुक र तीन राउण्ड गोलीसहित पक्राउ परेर हातहतियार खजाना मुद्दा खेपेका व्यक्ति भएको खुलेको छ। त्यस्तै, उनीहरुले गत असोज १० गते बाराकै नन्दकिशोर प्रसाद कुम्हाललाई पनि मोबाइलबाट धम्की दिँदै ५० लाख मागेका थिए। उक्त रकम नदिएपछि सुतली बम विस्फोट गराएका थिए।
यसबाहेक परवानीपुर ४ मा रहेको नारायणी आयल रिफाइनरीमा समेत धम्की दिए फिरौती मागेको खुलेको छ। त्यहाँ पनि रकम नपाएपछि गत असोज २ मा सुतली बम विस्फोट गराएको प्रहरी अनुसन्धानले देखाएको छ। उनीहरुले रिफाइनरीबाट २५ हजार मागेका थिए।
प्रमोदले फरक फरक नम्बरका तीनवटा मोबाइलबाट फिरौती धन्दा चलाउँदै आएका थिए।

प्रतिक्रिया