ad ad

समाज


‘अब राष्ट्रपति कार्यालय अगाडि जान्छु’

‘डीएनए परीक्षण भइदिए म सडकमा अनसन बस्नुपर्ने थिएन’
‘अब राष्ट्रपति कार्यालय अगाडि जान्छु’

राधिका अधिकारी
साउन २४, २०७९ मंगलबार १२:३, काठमाडौँ

उनलाई हिजोआज मान्छेहरुसँग डर लाग्न थालेको छ। अझै धेरै डर लाग्छ उनको पीडामाथि पनि राजनीति गर्ने मान्छेहरुसँग। मान्छेहरु हिँडिरहने सडक पेटीमा बसेकी छिन्। तर, उनलाई त्यही सडकसँग पनि डर छ।

उनको अघिल्तिरबाट दैनिक हजारौं मानिस ओहोर–दोहोर गर्छन। कतिका खुट्टाले कुल्चिएर हिँड्छन् उनले आफ्नो छोराको तस्बिरसहित बाटोमा न्यायको याचनासहित बिछ्याएको फ्लेक्स।

गाडीको झ्यालबाट मानिसहरु थुक्छन्। त्यो थुकको कति छिटा उनको शरीरमा पर्छ, उनी आफैंलाई थाहा छैन। उनी अर्थात निहारिका राजपुत।

सोमबार नेपालखबरकर्मी माइतीघर पुग्दा निहारिकाकै छेउमा मिटरब्याजबाट पीडित किसानहरु सामूहिक धर्नामा बसेका थिए । उनीहरुका आँखा निहारिका राजपुत र उनको २३ महिने छोरातिर सोझिइरहेका थिए । माइतीघरमा दुईथरी दुबै पीडितहरु देखिन्थे । एकातिर– मिटरब्याजबाट पीडित, अर्कोतिर यौन हिंसाबाट ।  

को हुन् निहारिका?

निहारिकाको वास्तविक नाम सोनालीकुमारी सिंह हो। उनको आरोपलाई मान्ने हो भने महोत्तरी जलेश्वरकी निहारिकामाथि उनी १७ वर्षकी हुँदा महोत्तरीकै शिवराज श्रेष्ठले बलात्कार गरेका थिए। त्यसपछि गर्भवती भएकी निहारिकासँग अहिले २३ महिनाका छोरा छन्।

श्रेष्ठले आफूलाई ललाई फकाई बन्धक बनाएर बलात्कार गरेको भन्दै ०७६ फागुन १९ गते उनले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएकी थिइन्। जाहेरीमा उनले शिवराजले बलात्कारपछि बसेको गर्भपतन गराउन दबाव दिएको उल्लेख गरेकी थिइन्।

निहारिकाको उजुरीपछि पक्राउ परेका शिवराजलाई २०७८ माघमा जिल्ला अदालत धनुषाले सफाइ दियो। जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले निहारिकामाथि बलात्कार नभएको फैसला सुनायो।

अदालतको यो फैसलापछि पुर्पक्षका लागि थुनामा रहेका शिवराज छुटे। त्यसपछि निहारिका आफूमाथि न्यायालय र न्यायाधीशले अन्याय गरेको भन्दै जिल्ला अदालत धनुषामै अनशन बसिन्। प्रहरीले हस्तक्षेप गरेपछि उनको अनशन बिथोलियो।

जिल्ला अदालतको फैसलाविरुद्ध निहारिकाले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरिन्। तर, उनको मुद्दाको पेशी नै तोकिएन। त्यसपछि सुरु भएको हो काठमाडौंमा अनशन।

परिवारको पनि साथ नपाएकी निहारिका अहिले पनि न्यायका लागि एक्लै लडिरहेकी छिन्। भन्छिन् ‘परिवारले इज्जत जाने डरले गर्भपतन गराउन भनेको थियो। परिवारको इज्जतका लागि गर्भमा हुर्किँदै गएको भ्रूण मार्न सकिनँ। त्यसपछि म बहिष्कृत भएँ। अहिले मेरो आफ्नो भनेको यहि छोरा हो, यही पनि बाटोमै कतिबेला मारिन्छ भन्ने भयले पिरोलिरहन्छ।’

जुस खुवाउनेहरु ‘बेपत्ता’ भए

निहारिका गत जेठ २७ गते आफ्ना ५ बुँदे मागसहित आमरण अनशनमा बसेकी थिइन्।

गत असार ३ गते सरकारसँग ५ बुँदे सहमति पश्चात उनले अनशन तोडिन्। असन तोड्नका लागि राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाले पहल गरेकी थिइन्।

निहारिकाले गृहमन्त्री बालकृष्ण खाँडको हातबाट जुस खाइन्। सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अधिकारकर्मी सावित्री सुवेदी, सुनिता गौतम र पत्रकार लोग्शरी कुँवरसँगै निहारिकाले हस्ताक्षर गरिन्। अहिले उनलाई त्यही हस्ताक्षरले पोलिरहेको छ।

निहारिका भन्छिन् ‘म कुनै पनि हालतमा मेरो अपराधीको डीएनए टेष्ट प्रकृया अगाडि नबढी अनशन तोड्ने पक्षमा थिइनँ। उहाँहरुले हामी साथ दिन्छौँ, तिमीलाई न्याय मिल्छ भन्नुभयो। मैले विश्वास गरें। तर अहिले उहाँहरु कहाँ हुनुहुन्छ, मलाई थाहा छैन।’

पीडक शिवराम श्रेष्ठ र आफ्नो छोराको डीएनए टेष्ट गराएर उनलाई कारबाही गर्न माग गर्दै निहारिका दोस्रो पटक अनशन बसेको ५ दिन भयो। तर, उनलाई सहमति पत्रमा हस्ताक्षर गराउने अधिकारकर्मीहरुले फोन रेस्पोन्स गर्न छाडेको निहारिकाको भनाइ छ।

फेरि अनशन

 सम्झौता कार्यान्वयन नभएको भन्दै निहारिकाले फेरि अनशन थालेकी छिन् । साउन २२ गते सर्वोच्च अदालत अगाडि आमरण अनशनमा बसेकी निहारिकालाई प्रहरीले त्यहाँबाट हटाउन खोज्यो। न्यायालयसँग न्याय मागिरहेकी निहारिका त्यहाँबाट उठ्न मानिनन्। उनलाई ३ जना महिला प्रहरीले हात र खुट्टामा समातेर गाडीमा हाले।

त्यतिबेला तानिएका उनका पाखुरा अहिले पनि दुख्न छोडेका छैनन्। शरीर भन्दा धेरै त उनको मन दुखेको छ। भन्छिन् ‘न्यायालय अघिल्तिरबाट मिल्काउन खोज्दा लुछिएर दुखेको शरीर त बिस्तारै ठीक होला। यो दुखेको मन कसरी ठीक होला?’

सर्वोच्च अदालत अगाडिबाट उठाउनुअघि निहारिकालाई सिंहदरबार बाहिरबाट पनि हटाइएको थियो।

अनशन बस्ने पनि निश्चित ठाउँ पनि छैन। कहिले सिंहदरबार, कहिले सर्वोच्च अदालत, कहिले माइतीघर मण्डला त कहिले बसन्तपुर डबलीतिर भौंतारिइरहन्छिन् निहारिका।

छोराको चिन्ता

आमा न्यायको लडाइमा रहेको कुरा बुझ्ने भएका छैनन् उनका छोरा। आमालाई प्रहरीले उठाउँछ, उनी चिच्याउँदै रुन्छन्। भोक लाग्यो भन्छन्। छोरालाई दिने निहारिकासँग केही छैन। छोरालाई भोक प्यासमा खाना, पानी दिन नसकेकोमा बारम्बार गाँठो पर्छ निहारिकाको मन। उनी घुँडामा मुन्टो राख्छिन् र आँसु बगाउँछिन्। त्यही मौका छोपेर छोरा दौडिएर पर पुग्छन्।

माइतीघर मण्डलाको सडमा बाक्लै दौडिरहेका गाडी, त्यही सडकमा भौंतारिरहेका उनका छोरा। निहारिका उनलाई गुहार्छिन्। अरुले उनलाई समातेर ल्याइदिन्छन्।

नजिकै आएपछि निहारिकाले आफ्ना माग प्रिन्ट गरेर राखेको पोस्टरमा लडिबडी गर्दै रुन्छन्। छोरासँगै निहारिका पनि रुन्छिन्।

उनीहरुको आँसु सडकको चर्को घामले एकैछिनमा सुकाउँछ। भन्छिन् ‘मेरो यो आँसु पछाडिको पीडा मेरो राज्यले कहिले बुझ्छ?’

अहिले निहारिकालाई आफ्नो भन्दा छोराकै चिन्ता छ। एकातिर छोरालाई गाडीले हानेर मार्दिन्छन् कि भन्ने चिन्ता छ, अर्कोतिर न्याय नपाई आफू मरेको खण्डमा छोराको अवस्था के होला भन्ने पीर छ।

निहारिका भन्छिन् ‘कम्तीमा यो राज्यले मेरो बच्चा र अपराधीको डीएनए जाँच गरिदिएको भए म फेरि सडकमा आउनुपर्ने थिएन।’

करिश्मासँग चित्त दुखाइ

अघिल्लोपटक निहारिका अनशनमै रहेका बेला अभिनेत्री करिश्मा मानन्धरले उनलाई धर्मपुत्रीका रुपमा घरमा राख्ने इच्छा व्यक्त गरिन्। निहारिकालाई एडप्ट गर्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि करिश्मा निक्कै आलोचित पनि भइन्। निहारिकाले त्यतिबेलै भनेकी थिइन् ‘मलाई सहारा होइन, न्याय चाहिएको हो।’

त्यसपछि करिश्माले न्यायका लागि पहल गर्ने बताइन्। उनले सामाजिक सञ्जालमा लामो स्पष्टीकरण दिइनु। उनले त्यतिबेला न्याय माग्न पनि बस्ने ठाउँ चाहिने, राम्रो पोषिलो खान चाहिने, दिनभरि न्याय मागेर साँझ फर्किँदा बस्ने ठाउँ चाहिने भएकाले त्यो सबै आफूले दिन तयार रहेको बताइन्। साथमा उनले न्यायका लागि खबरदारी गर्ने बताएकी थिइन्।

अनशन तोडेपछि निहारिका केही समय करिश्मासँगै देखिइन्। करिश्माले निहारिकाका छोराको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर उनलाई साथ दिएको प्रमाण पेस गरिन्।

निहारिकालाई आश थियो सबैतिर पहुँच भएकी करिश्माले उनलाई न्यायको लडाइमा साथ दिने छिन्। उनको आवाजमा आवाज मिसाइदिने छिन्। तर, त्यस्तो हुन सकेन।

सडकमा अनशनरत निहारिकालाई अहिले पनि करिश्माले आफ्नो न्यायका लागि केही बोलिदिन्छिन् कि भन्ने आश लागिरहन्छ। तर, उनी बोलेकी छैनन्।

निहारिका भन्छिन् ‘आफ्नै जन्म दिने आमाबुवाबाट मिल्काइएकी मलाई अर्काकी आमाले साहारा दिन्छु भन्दा पत्याउनु मेरो भूल थियो।’

अब राष्ट्रपति कार्यालय अगाडि जान्छु : निहारिका

निहारिकालाई न्याय पाउँछु भन्ने आश मरिसकेको छ। न्याय पाउँदिनँ भन्ने कुराले भन्दा पनि आफ्नो अपराधी खुलेआम हिँडिरहेको दृश्यले झन धेरै सताएको छ। अनशनमा बसेकी उनको बोली बिस्तारै मधुरो हुँदै गएको छ। आँखा खोल्न गाह्रो हुन्छ।

निहारिकालाई साथ दिन्छु भन्नेहरुसँग भरोसा लाग्न छोड्यो। हिजोआज उनलाई साथ दिन्छु भनेर आउने महिला अधिकारकर्मीले आफूलाई प्रयोग गरेको महसुस हुन्छ।

उनी भन्छिन् ‘म न्याय नपाएर सडकमा भौँतारिएको मान्छे। मेरो त यहाँ सडक बाहेक अर्को विकल्प कहाँ नै छ र? म कुनै पहुँच नभएको मान्छे। पहुँच हुने दिदीहरुले मलाई जर्बजस्ती अनशन तोडाउन हस्ताक्षर गर्नुभयो। २ महिनाभन्दा धेरै समय बितिसक्दा पनि उहाँहरुले किन एकपटक प्रश्न गर्नुभएको छैन यो राज्यलाई?’

गृहमन्त्रीले पनि आफूलाई आश्वासन मात्रै दिएको र न्यायका लागि पहल नगरिदिएको उनको आरोप छ।

उनी भन्छिन् ‘मलाई मेरो बच्चाको बाबु चाहिएको होइन, अपराधीलाई सजाय मागेकी हुँ। ऊ अपराधी होइन भने मेरो बच्चाको डीएनएसँग उसको डीएनए किन जाँच भैरहेको छैन? यो राज्यले डीएनए टेष्ट प्रकृया अगाडि नबढाएर किन उसलाई संरक्षण दिएर राखेको छ?’

न्यायका लागि पर्खिन सक्ने धैर्यता पनि गुम्दै गएको निहारिका सुनाउँछिन्। भन्छिन् ‘म यो शरीर घिसारेर मलाई न्याय देऊ भन्दै चिच्चाइरहन सक्दिनँ। अब राष्ट्रपति कार्यालय अगाडि जान्छु ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .