ad ad

समाज


‘बरु एक वर्ष गाली खाउँला, हतारमा फोहोर व्यवस्थापनको विकल्प खोज्दैनौँ’

‘बरु एक वर्ष गाली खाउँला, हतारमा फोहोर व्यवस्थापनको विकल्प खोज्दैनौँ’

नेपालखबर
साउन १५, २०७९ आइतबार १४:२२, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनसहितका काम विस्तारै गर्दै जाने बताएका छन्। 

पोखरामा भएको महानगरका मेयर-उपमेयरको सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

शाहले यो महानगरमा वर्ष १२ अर्बजति राजस्व संकलन हुने बताउँदै काठमाडौंले भोगेको समस्या र अरुको समस्या फरक रहेको उल्लेख गरे।

'काठमाडौंबाट सिक्ने कुरा धेरै छन्। साना साना कुराहरु छन् ती समस्या अरु नगरले पनि भोग्नुपर्ने हुन्छ', उनले भने, 'पानी, फोहोर र पब्लिक ट्रान्सपोटेसनको समस्या छ यहाँ।

मेलम्चीको पानी खानुपर्ने होइन काठमाडौं उपत्यकाले। तर हामीले ढुंगेधारा र हिटीबाट पानी खाइरहेको सहर बिगार्यौँ। सिमेन्ट प्रयोगले काठमाडौं बिग्रियो। गिटी हाल्ने र नदी नाला मास्ने काम भएको छ।'

शाहले कम्तीमा आठनाभन्दा तल घर बनाउनै नदिएको भए काठमाडौंमा पानी रिचार्ज सम्भव हुने बताए। 

'मिनिमम आठाना भन्दा तल घर बनाउन नदिएको भए पानी रिचार्ज गर्न सकिन्यो। तर पनि हामी पानी रिचार्जलाई हामी बढाउँछौँ', उनले भने, 'ढल निर्माण भइरहेको छ। तर त्यही ढलमा वर्षाको पानी मिसाउनु हुँदैनथ्यो। पानी पनि ढलमै हालिदिँदा रिचार्ज हुनै पाएन।'

उनले फोहोर व्यवस्थापन पनि हतारमा नगर्ने बताए। 'हामीले मलका रुपमा फोहोरलाई व्यवस्थापन गर्न सक्थ्यौँ। नेपालले मलमा पनि आत्मनिर्भर हुनुपर्छ', उनले भने, 'हामीले अहिले फोहोर व्यवस्थापनमा हतार गरेका छैनौँ। फोहोर व्यवस्थापनमा हतार गर्दैनौँ। अहिलेसम्म फोहोर किन व्यवस्थापन नभएको भन्ने कुरा छ। तर हामी यसलाई दीर्घकालीन योजनासहित मिलाउँछौँ।'

शाहले तत्कालै २/५ अर्ब खर्चेर मेसिन ल्याउन सकिए पनि फोहोर व्यवस्थापन तुरुन्तैलाई  नभइ ३०/५० वर्षसम्म दीगो हुने फोहोर व्यवस्थापन गर्ने योजनामा महानगर रहेको बताए। 

'हामीले हरेक महिनाको हरेक सोमबार महानगरपालिका, सडक विभाग र विद्युत् प्राधिकरणसँग छलफल गर्छौँ। अब हामीले आत्तिएर पैसा खर्च गर्दैनौँ', उनले भने, '२५ अर्बको बजेट व्यवस्थितरुपमा खर्च गर्छौँ। काम नदेखियोस् तर ५०/१०० वर्षका लागि हुने गरी काम गर्ने दिशामा छौँ।'

शाहले बरु एक वर्ष गाली खाने तर उपत्यकालाई थप बिग्रिन नदिने बताए। 'बरु एक वर्ष हामी महानगरबासीबाट गाली खान तयार छौँ', उनले भने, 'उपत्यकालाई बिग्रिनबाट जोगाउनुपर्छ। हामीलाई सय तले भवन चाहिएको छैन। अहिले नै ३० तलाको भवनमा पर्यटक राख्नु भन्दा होम स्टेमा राख्नु ठीक हो। तला बढाउनेभन्दा घर घरमा पर्यटक राखेर आम्दानी दिलाउनु राम्रो हो।'

उनले एउटा मेयरले सस्तो लोकप्रियता नभएर ५० वर्षपछाडि सोचेर काम गर्नुपर्ने तर्क पनि गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .