समाज


भूमिगत समूहको वार्ता रणनीति: भारतीय चोरीका गाडी वैध बनाउन खेल

भूमिगत समूहको वार्ता रणनीति: भारतीय चोरीका गाडी वैध बनाउन खेल

दीपक खरेल
असार ९, २०७६ सोमबार ७:४,

माओवादी कम्युनिस्ट केन्द्र नेपालले शान्ति प्रक्रियामा आउन करिब दुई करोड मूल्य पर्ने दुई वटा चोरीका गाडी आफूहरुले पाउनु पर्ने सर्त अघि सारेको हो।

सरकारसँग गठित वार्ता टोलीसँग टोयटा फर्च्युनर र महिन्द्रा स्कोरपियो जीपको डिल भएको हो। भारतमा चोरी भएका ती गाडी अवैध रुपमा नेपाल भित्र्याइएका गाडी हुन्।

दुवै गाडी अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखामा पार्किङमा छन्। ट्राफिक प्रहरीले अवैध गाडीसहित बैशाखमा दुई जनालाई पक्राउ गरेपछि यो विषयको खुलासा भएको हो। नेपालमा डेढ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने टोयटा फर्च्युनर ७ लाख र ४० लाख भन्दा बढी मूल्यको स्कोरपियो ४ लाख रुपैयाँमा डिल गर्ने हिमाल खरेलसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

भारतको हरियाणा र उत्तर प्रदेश राज्यबाट चोरी भएका गाडी माओवादी कम्युनिष्ट केन्द्र नेपाल नामको दलमा संलग्नहरुले कौडीको भाउ किनेर महँगोमा बेच्ने रणनीति बनाएको प्रहरी अनुसन्धानले देखाएको हो।

सरकारले नेकपा नेता तथा सांसद सोमप्रसाद पाण्डे संयोजकत्वमा गठन गरेको वार्ता टोलीसँग केन्द्रले चरणवद्ध वार्ता गरिरहेको छ। पार्टीले सरकारसँग वार्ताको शर्तमा यी दुईसहित थप दुई गाडीलाई समेत भन्सार छुटसहित दर्ता अनुमति दिनुपर्ने सर्त अघि सारेको छ। थप दुई गाडी कहाँ छन् र कुन हुन् भन्ने खुल्न सकेको छैन।

स्रोतका अनुसार दलका नेताहरुले आफूहरुसँग सरकारको वार्ता सफल हुन लागेको भन्दै चोरीका गाडीको चाँडै भन्सार कागजपत्र बन्ने भन्दै तेस्रो व्यक्तिसँग बिक्रीको डिल गरिरहेका हुन्। चोरीका गाडी सस्तोमा किन्ने र पछि सरकारले दिएको सुविधाअनुसार नेपाली दर्ता नम्बर राखेर महँगोमा बेच्ने रणनीति उनीहरुको रहेको प्रहरी स्रोतको दाबी छ।

सरकारी वार्ता टोली संयोजक पाण्डेले माओवादी कम्युनिस्ट केन्द्र नेपालसँग वार्ता भएको बताए। ‘वार्ता सकारात्मक र निर्णायक मोडमा पुगेपछि समितिको म्याद सकिएकाले थप कुरा अघि बढ्न पाएन’, उनले नेपालखबरसँग भने, ‘वार्ताका क्रममा गाडीको कुरा पनि उठेको थियो।’

२०६४ मा राज्यले आफूहरुबाट सवारीसाधन जफत गरेको दाबी गर्दै फिर्ता हुनुपर्ने माग सो समूहले अघि सारेको सांसद पाण्डे बताउँछन्। ‘उहाँहरुले त्यतिबेला आफूहरुले चढेको गाडी सरकारले जफत गरेकाले फिर्ता हुनुपर्ने माग राख्नु भएको थियो’, उनी भन्छन्।

डिएस महता (कमरेड निर्माण) संयोजक रहेको केन्द्र कुनै जनाधार भएको पार्टी होइन। करिब गुमनाम समूह हो। यो समूह नेपालमा भारतीय नाकाबन्दी ताका सक्रिय थियो। पछिल्लो समय गुमनाम छ।

गुमनाम समूहले शान्ति वार्ताका नाउँमा गाडी बार्गेनिङ गरेको विषयमा गृह मन्त्रालयमा समेत चर्चा हुने गरेको छ। ‘कुनै जनाधार नभएको दलसँग वार्ता हुनु र उसले भनेका माग पूरा गर्न सरकार तयार हुने अवस्था बन्छजस्तो लाग्दैन’, ती अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘गाडीको बार्गेनिङले कमाउने नियत राखेको प्रस्ट खुल्छ।’

हरियाणाको फर्च्युनर बग्गीखानामा
महाशाखाले नियन्त्रणमा लिएको फच्र्युनर गाडी भारतको हरियाणा राज्यमा एचआर ०५ एटी ००३० नम्बरमा दर्ता छ। हरियाणाको कार्नलका नबिन गोयलको नाममा रहेको गाडी जुन २०१८ मा चोरिएको भनेर भारतीय प्रहरीमा जाहेरी परेको छ। कर्नाल प्रहरीमा दर्ता रहेको जाहेरीमा नविनले आफ्नो ३ लाख रुपैयाँसहित गाडी लुटपाट भएको उल्लेख गरेका छन्। हेर्नुहोस् विस्तृत विवरण:

 tyota india

यस्तै डिल भइरहेको अर्को युपी ८४ एक्स ०१७२ नम्बरको स्कोरपियो जीप राम नरेशको नाममा दर्ता रहेको छ।

नेपालखबरले चोरीका गाडीको डिलमा केन्द्रको संलग्नताका विषयमा सोधेपछि सांसद पाण्डेले आफूसँग पनि केही ब्यक्तिहरुले गाडी खरिदका विषयमा सोधपुछ गरेको बताए। ‘केही व्यक्तिहरुले त्यस्तो गाडी किन्न हुन्छ कि हुँदैन भनेर सोध्नु भएको थियो,’ उनले नेपालखबरसँग भने ‘मैले किन्न हुँदैन, सरकारले यसमा केही गर्दैैन भनेँ।’

महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले भारतबाट बिना भन्सार भित्रिएका दुई गाडी वैशाखदेखि आफ्नो नियन्त्रणमा रहेको पुष्टि गरे। गाडीका सम्बन्धमा कोही आफ्नो सम्पर्कमा नआएको उनको भनाइ छ।

‘भन्सार अवधि नाघेका दुई गाडी हाम्रो नियन्त्रणमा छन्,’ एसएसपी पन्तले भने ‘अन्य कुनै डिलको विषयमा त हामीलाई जानकारी छैन।’

प्रहरीले २०७६ बैशाखको अन्तिम साता भारतीयसँग गाडी खरिदमा संलग्न खरेल र अर्का एकजनालाई पक्राउ गरेको थियो। दुवै जना गृहकै आदेशमा हाजिरी जमानीमा छाडिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .