समाज


डाक्टरले औषधिले निको हुँदैन भनेपछि किशोरीले सार्वजनिक गरिन् बलात्कारको घटना

मनोज पाण्डेविरुद्धको मुद्दा अदालतमा
डाक्टरले औषधिले निको हुँदैन भनेपछि किशोरीले सार्वजनिक गरिन् बलात्कारको घटना

नेपालखबर
असार १, २०७९ बुधबार १९:८, काठमाडौँ

नाबालिकलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डे भन्ने मनोजकुमार जैसीविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दर्ता भएको छ।

प्रहरीले अनुसन्धान सकेर केही दिनअघि अनुसन्धान प्रतिवेदन बुझाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अदालतमा मुद्दा दर्ता गरेको हो। 

पाण्डेविरुद्ध मानव बेचबिखन र बालयौन दुर्व्यवहारको मुद्दा लगाइएको छ। मानव बेचबिखनमा १५ वर्षसम्म र बालयौन दुर्व्यवहारमा ३ वर्षसम्म कैद सजायको माग गरिएको छ। 

२०७१ मा पाण्डेले आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै एक किशोरीले भिडिओमार्फत घटना सार्वजनिक गरेकी थिइन्। त्यतिबेला किशोरी १६ वर्षकी थिइन्। 

अभियोग पत्रमा उल्लेख भएअनुसार २०७१ असोज १० गते भद्रकालीस्थित आर्मी क्लबमा सुन्दरी प्रतियोगिता भएको थियो।

त्यसको केही दिनपछि सक्सेस पार्टीको बहानामा बोलाई जबर्जस्ती करणी गरेको उनीमाथि अभियोग छ। अश्लील फोटो भिडिओ समेत खिचेको छु भनी त्रास देखाई त्यसपछि विभिन्न स्थानमा लगी जबर्जस्ती करणी गरेको अभियोग पत्रमा उल्लेख छ। 

‘काठमाडौं महानगरपालिका १० स्थित होटल रिजेन्सी समेतमा जान बाध्य पारी निजले पटकपटक करणी गरी अन्य पुरुष व्यक्तिलाई समेत बोलाई निज पीडितलाई जबर्जस्ती करणी गर्न लगाई पीडितलाई वेश्यावृत्तिमा लगाएको मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरको वारदात भएको पुष्टि हुन आयो,’ अभियोगमा भनिएको छ। 

बयानका क्रममा पाण्डेले अभियोग इन्कार गरेका छन्। उनले जबरजस्ती करणी नगरेको तथा अन्य साथीहरुलाई पनि जबर्जस्ती करणी गर्न नलगाएको बताएका छन्।

मनोजले म सुन्दरी प्रतियोगिताको आयोजक हुँ र म फोटोसुट पनि गर्छु भनी किशोरीलाई एभरेस्ट होटलमा भेट्न बोलाएका थिए। त्यहाँ मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सञ्चालक हुँ र म छिट्टै सुन्दरी प्रतियोगिताको आयोजना पनि गर्दैछु भनी अर्को दिन आफ्नो कन्सल्टेन्सीमा फोटोसुटका लागि बोलाएका थिए। 

उनले फोटोसुटमा आफन्त तथा साथीभाइ कसैलाई पनि नल्याउन भनेकाले किशोरी एक्लै गएकी थिइन्। त्यहाँ उनले किशोरीलाई मिस ग्लोबल इन्टरनेसनलको सुन्दरी प्रतियोगिताको अडिसन फर्म भर्न लगाएका थिए। 

त्यसपछि सुन्दरी प्रतियोगिताको आयोजना भएको थियो। उक्त प्रतियोगितामा ती किशोरी पनि सहभागी भएकी थिइन्। 

कार्यक्रमपछि घर फर्किने बेलामा पाण्डेले मैले तिमीलाई जिताएको हुँ भनी मेसेज पठाएका थिए। पछि सक्सेस पार्टी छ तिमी तयार भएर आऊ भनी एभरेस्ट होटलमा बोलाएका थिए। मनोजले भनेअनुसार ती किशोरी होटलमा पुग्दा मनोजबाहेक अन्य कोही पनि थिएनन्। 

‘मैले अरु खै त भनी प्रश्न गर्दा तिमी अलि छिटो आयौ, पार्टी ७ बजेबाट सुरु हुन्छ बस्दै गर भने,’ किशोरीले भनेकी छन्।

उनलाई त्यहाँ पर्खाएर वेलकम ड्रिंक हो भन्दै नसालु पदार्थ दिइएको र त्यो पिएपछि केही समयमै उनलाई असहज भएको र घर जान खोज्दा पनि पाण्डेले नदिएको बताइएको छ। 

घर जानलाई अनुरोध गर्दा पाण्डेले गाली गर्दै विजेता भएर तिमीले यस्तो कुरा गर्न मिल्दैन, मिडियाले तिमीलाई खोज्छन्, मैले के जवाफ दिने भन्दै उनलाई रोकेका थिए।

त्यसपछि पाण्डेले नै बुक गरेको एउटा कोठामा ती किशोरीलाई लगेका थिए। 

‘तिमी त्यहाँ गई आराम गर्दै गर, सबैजना आएपछि म तिमीलाई बोलाउन पठाउँछु भनेकोसम्म मलाई याद छ, त्यस पछि के कसो भयो मैले थाहा पाइँन। मलाई अलिअलि होस हुँदा निजले मलाई बलात्कार गरिरहेका थिए,’ किशोरीले भनेकी छन्। 

भोलिपल्ट ती किशोरी रुन थालेपछि पाण्डेले पैसा लिएर घर जाऊ, यदि यो कुरा तिमीले कसैलाई भन्यौ भने म तिम्रो अश्लील फोटो तथा भिडिओ अनलाइनमार्फत सार्वजनिक गरिदिन्छु भनी डर त्रास देखाएको अभियोगमा उल्लेख छ। 

पाण्डेको धम्कीका कारण यो कुरा कसैसँग भन्न नसकेको र त्यसपछि पनि पाण्डेले पटकपटक विभिन्न स्थानमा जबर्जस्ती करणी गरेको पीडितको आरोप छ। पाण्डेले अनामनगरकै एउटा होटलमा बोलाएर अर्का व्यक्तिलाई समेत करणी गर्न लगाएको अभियोग पत्रमा उल्लेख छ।

होटलको कोठामा एक जना अपरिचित पुरुष व्यक्ति बसिरहेको र तीसँग पनि पाण्डेले शारीरिक सम्पर्क राख्न लगाएको पीडितले बताएकी छन्। तर ती व्यक्ति को थिए भन्ने किशोरीले नचिनेको बताएकी छन्। पाण्डेले पनि यस बारेमा खुलाएका छैनन्। 

यसरी पटकपटक शारीरिक शोषण तथा मानसिक यातनाबाट ती किशोरी विक्षिप्त बन्दै गएकी थिइन्। यही कारण आफूले पटकपटक आत्महत्याको प्रयास गरेको पीडितले बयानमा बताएकी छन्।

यसरी विक्षिप्त बनेकी किशोरीलाई उनकी आमाले उपचारका लागि अस्पताल लगेकी थिइन्। अस्पतालका डाक्टरले ‘तिम्रो समस्या मनभित्र छ, मस्तिष्कको औषधि खाएपछि काम गर्दैन। जबसम्म तिमी तिम्रो पीडाबारे खुलेर कुरा गर्दैनौँ, तबसम्म तिमी ठिक हुँदैनौ भनेकोले मैले सबै घटनाहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुँ,’ किशोरीले बयानमा भनेकी छन्। 

डाक्टरको यही सल्लाह नै किशोरी अदालतसम्म पुग्ने बाटो बन्यो। किशोरीले त्यसरी घटना सार्वजनिक गरेसँगै कानुनी प्रक्रिया अगाडि बढेको हो। 

किशोरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको घटना विवरणको भिडिओ पनि अदालतमा पेस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .