आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई चार दिन हिराशतमै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
सोमबार सिद्धबाबाविरूद्व सुनसरी जिल्ला अदालतबाट ४ दिनको अनुसन्धान म्याद थप भएको हो।
बलात्कार आरोप लागेपछि विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गराइरहेका सिद्धबाबालाई प्रहरीले आजै बिहान आईसीयूबाटै नियन्त्रणमा लिएको हो।
सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माको प्रहरी टोलीले उनलाई बिहान ४ बजे पक्राउ गरेको हो। एम्बुलेन्समा राखेर उनलाई सुनसरी जिल्ला प्रहरी कार्यालय लगिएको थियो।
प्रहरीले अनुसन्धाका लागि सिद्धबाबालाई सोमबारै अदालतमा उपस्थित गराएको थियो। पक्राउसँगै उनीबाट बरामद सबै सबुत जाँचका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाएको छ।
आफ्नो नाम पछिल्लो पटक फेरेर ‘सिद्धबाबा’का रुपमा कहलिएका विवादास्पद कृष्णबहादुर गिरीविरुद्ध सुनसरी जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ।
सुनसरी बाहिरकी एक अनुयायीले सिद्धबाबाले आफूलाई बराहक्षेत्रस्थित चतरा आश्रममा बलात्कार गरेको उजुरी गत बिहीबार दर्ता गराएकी हुन्। घटना गत कात्तिक ४ गते भएको उजुरीमा उल्लेख छ।
आफूविरुद्ध उजुरी दर्ता भएको थाहा पाएपछि ‘सिद्धबाबा’ मुटु दुखेको भन्दै शुक्रबार बिहानै अस्पताल भर्ना भएका थिए।
Shares

प्रतिक्रिया