प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धान आफ्नो प्राथमिकतामा पर्ने बताएका छन्।
प्रहरी महानिरीक्षक भएको एक महिनाका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै सिंहले आफ्नो प्राथमिकता उक्त घटनाको अनुसन्धान पर्ने बताए।
‘मेरो कार्यकालमा निर्मला प्रकरणको अनुसन्धानले प्राथमिकतामा पाउँछ। यो घटनामा प्रश्न उठ्ने काम भएको छ । तर प्रहरीबाट काम भइरहेको छ’, सिंहले भने।
१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पूरा हुँदा पनि प्रहरीले हत्यामा संलग्न पत्ता लगाउन सकेको छैन।
यसबीचमा चार जना प्रहरी नेतृत्वमा पुगिसकेका छन्। यसअघिका तीन जना प्रहरी प्रमुख यो घटनाको अनुसन्धान सम्पन्न गर्न असफल भएका छन्।
घटना हुँदा सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक थिए। उनी अनुसन्धानमा सफल भएनन्। त्यसपछि ठाकुर ज्ञवाली र शैलेश थापा क्षेत्रीले पनि अनुसन्धान सम्पन्न गर्न सकेनन्। उनीहरुले पनि यो घटनाको अनुसन्धान प्राथमिकतामा पर्ने बताएका थिए।
सिंह यो घटना पछिका चौथो आईजीपी हुन्। र उनले पनि यसअघिका महानिरीक्षकले जस्तै अनुसन्धानमा प्राथमिकता दिने बताएका छन्। तर सिंहको कार्यकालमा भने पुरा हुन्छ वा हुँदैन भन्ने हेर्न बाँकी छ।
Shares

प्रतिक्रिया